सानिगाड हाइड्रोको आईपीओ आवेदन अवधि लम्बियो, वैशाख ७ सम्म आवेदन दिन पाइने
- BFIS News
- 2026 Apr 05 10:43
काठमाडौं, चैत — सानिगाड हाइड्रो लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अवधि थप गरेको छ। यसअघि चैत ८ गतेदेखि खुला गरिएको उक्त आईपीओमा अब २०८३ साल वैशाख ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये २८ करोड ५० लाख रुपैयाँ बराबरको २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको हो।
यस अन्तर्गत अति प्रभावित क्षेत्र बुंगल नगरपालिका वडा नं. १, २ र ४ का बासिन्दाहरूलाई १८ लाख ५२ हजार ५०० कित्ता शेयर बाँडफाँट गरिनेछ। बाँकी ९ लाख ९७ हजार ५०० कित्ता शेयर वडा नं. ३, ५, ६, ७, ९, १० र ११ का स्थानीय बासिन्दाहरूमा वितरण गरिने कम्पनीले जानकारी दिएको छ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। कम्पनीको क्रेडिट रेटिङ्गतर्फ इक्रा नेपाल ले ‘इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।
सानिगाड हाइड्रोले सञ्चालन गरिरहेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना को कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ। यस आयोजनाको प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको छ भने विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै २५ वर्ष ३ महिना बाँकी छ।
परियोजनाको वित्तीय विवरणअनुसार साधारण लगानी फिर्ता हुने अवधि ८.२५ वर्ष र डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १४.६९ वर्ष रहेको छ।
उक्त आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाहरूले लक्ष्मी सनराइज बैंक को चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंक को बझाङ शाखाबाट आवेदन दिन सक्नेछन्।
यसका अतिरिक्त बुंगलस्थित पावर हाउस विरावगरबाट समेत आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। आवेदन फाराम प्राप्त गर्न भने स्थानीय बासिन्दाले २ रुपैयाँ शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












.jpg)


प्रतिक्रिया