NIMB Header 2
Nepal Life

दूधको भुक्तानी नपाउँदा बर्दियाका किसान समस्यामा, डेढ करोड बढी रकम अड्कियो

IME LIFE
  • BFIS News
  • 2026 Apr 05 12:56
दूधको भुक्तानी नपाउँदा बर्दियाका किसान समस्यामा, डेढ करोड बढी रकम अड्कियो
United Ajod

बर्दिया (गुलरिया), चैत २२ — बर्दियाका दूध उत्पादक किसान र दुग्ध सङ्कलन केन्द्रहरू भुक्तानी नपाउँदा गम्भीर समस्यामा परेका छन्। जिल्लामा करिब डेढ करोड रुपैयाँ बराबरको दूधको रकम अझै भुक्तानी हुन बाँकी रहेको छ।

Nepal Life
NIMB

जिल्लाका विभिन्न डेरी उद्योगहरू—नेपालगञ्ज दुग्ध वितरण संस्थान बाँके, भट्टराई डेरी बाँसगढी, एस के डेरी नेपालगञ्ज र कुश्मेश्वर डेरी राजापुर—ले पछिल्लो केही महिनादेखि दूधको रकम भुक्तानी नगरेको किसानहरूको गुनासो छ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ बर्दियाका अध्यक्ष पवन कुमार यादवका अनुसार नेपालगञ्ज दुग्ध वितरण संस्थान बाँकेले मात्रै चार सहकारीको ५१ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ। त्यसैगरी भट्टराई डेरी बाँसगढीले ७८ लाख २३ हजार, एस के डेरी नेपालगञ्जले १० लाख ६० हजार र कुश्मेश्वर डेरी राजापुरले २ लाख ९२ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ।

समयमै भुक्तानी नपाउँदा सहकारी र किसानबीचको सम्बन्धमा समेत असर परेको छ। गत वर्ष नौ सहकारीले दूध आपूर्ति गरेकोमा यस वर्ष घटेर चार सहकारीमा सीमित भएको अध्यक्ष यादवले जानकारी दिनुभयो।

जिल्लाकै ठूलो दूध कारोबार गर्ने भगवती दुग्ध सहकारी संस्थाले भने आफैं बिक्री काउन्टर सञ्चालन गरी दूध बिक्री गर्दै आएको छ। बाँकी दूध सुजल डेरीलाई बिक्री गर्ने गरिएको र भुक्तानी नियमित भइरहेको बताइएको छ। कहिलेकाहीँ ढिलाइ भएमा सहकारीको कोषबाट किसानलाई भुक्तानी गर्दै आएको उल्लेख गरिएको छ।

दुग्ध उत्पादन सहकारी सङ्घका केन्द्रीय सदस्य इन्द्र प्रसाद लुइँटेलले किसानको मेहनतको मूल्य नपाउँदा उनीहरू आर्थिक संकटमा परेको बताउनुभयो। “किसानले पसिना बगाएर उत्पादन गरेको दूधको रकम नपाउँदा जीवनयापन नै कठिन भएको छ,” उहाँले भन्नुभयो।

यसैबीच नेपालगञ्ज दुग्ध वितरण आयोजना बाँकेका प्रमुख दिलिप चौधरीले मंसिरयताको भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको छ। उहाँका अनुसार हाल नेपालगञ्ज क्षेत्रमा बर्दिया र बाँकेबाट दैनिक करिब चार हजार लिटर दूध सङ्कलन भइरहेको छ र भुक्तानी प्रणालीलाई क्रमशः सहज बनाउने प्रयास भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया