अनलाइन सट्टेबाजीका ७ हजारभन्दा बढी एप र वेबसाइट बन्द
- BFIS News
- 2026 Apr 05 12:50
काठमाडौँ, चैत २२ — सरकारले ‘अनलाइन’ सट्टेबाजी नियन्त्रण गर्ने अभियानअन्तर्गत सात हजारभन्दा बढी एप र वेबसाइट बन्द गरेको छ। शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयन गर्ने क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूसँग समन्वय गर्दै ती प्लेटफर्महरू बन्द गराएको हो।
प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट पहिचान गरी इन्टरनेट सेवा प्रदायकलाई बन्द गर्न निर्देशन दिइएको थियो। उहाँले हालसम्म सात हजारभन्दा बढी युआरएल र एप बन्द भइसकेको जानकारी दिनुभयो। पछिल्लो एक सातामा मात्रै प्राधिकरणमा टेलिफोन, इमेल र म्यासेजमार्फत ५० भन्दा बढी गुनासा प्राप्त भएको र ती सबैमाथि कारबाही अघि बढाइएको उहाँको भनाइ छ।
मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने व्यवस्था गरिएको छ। सोही निर्णयअनुसार विद्युतीय माध्यमबाट सञ्चालन भइरहेका यस्ता सबै पहिचान भएका प्लेटफर्म तुरुन्त बन्द गरिएको हो।
कानुनी रूपमा पनि सट्टेबाजी निषेध गरिएको छ। मुलुकी अपराध संहिता २०७४अनुसार कसैले सट्टेबाजी गर्न वा गराउन पाइँदैन। उल्लङ्घन गरेमा प्रयोग भएको रकम जफत हुनुका साथै एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ। यस्तै विज्ञापन ऐन २०६६ले जुवा वा सट्टेबाजीसम्बन्धी प्रचार–प्रसार गर्न निषेध गरेको छ।
सरकारले सर्वसाधारणलाई यस्ता एप तथा वेबसाइट प्रयोग नगर्न आग्रह गर्दै अनधिकृत गतिविधि भेटिएमा कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै शङ्कास्पद प्लेटफर्मबारे जानकारी भएमा सम्बन्धित निकायमा सूचित गर्न अपिल गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया