बैतडीमा सरकारी सेवा बिचौलियामुक्त र छरितो बन्यो
- BFIS News
- 2026 Apr 05 13:31
वासुलिङ (बैतडी), चैत २२ — बैतडी जिल्लास्थित सरकारी कार्यालयहरूमा सार्वजनिक सेवा प्रवाह पछिल्ला दिनमा बिचौलियामुक्त, छिटो र सहज बन्न थालेको छ। सेवाग्राहीमैत्री वातावरण निर्माण गर्दै कार्यालयहरूले सेवा प्रवाहमा सुधार ल्याएको सेवाग्राहीहरूले बताएका छन्।
विगतमा सामान्य कामका लागि समेत लामो समय कुर्नुपर्ने अवस्था रहेको भए पनि हाल सेवा छरितो, छिटो र सरल रूपमा उपलब्ध हुन थालेको छ। स्थानीय तहदेखि जिल्लास्तरीय कार्यालयसम्म सेवा प्रवाहमा प्रभावकारिता बढ्दै गएको उल्लेख गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक सेवा पूर्ण रूपमा बिचौलियामुक्त बनाउन पहल तीव्र पारेको जानकारी दिएको छ। प्रशासनले जारी गरेको सूचनामा सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल गर्ने कार्य भए कानुनी कारबाही गरिने स्पष्ट पारिएको छ।
जिल्लास्थित सबै कार्यालयहरूलाई सार्वजनिक सेवा बिचौलियामुक्त बनाउन आग्रह गर्दै, सेवा प्रवाहलाई अझ छिटो, छरितो र सहज बनाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइएको छ।
स्थानीय स्तरमै सेवा निःशुल्क र सहज रूपमा उपलब्ध भएपछि सेवाग्राहीले समय र खर्च दुवै बचत गर्न सकेका छन्। यसले ग्रामीण भेगका नागरिकलाई विशेष रूपमा लाभ पुगेको छ। सरकारी सेवा प्रणालीमा आएको सुधारले पारदर्शिता अभिवृद्धि हुनुका साथै सुशासन प्रवर्द्धनमा पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











.jpg)
.jpg)


प्रतिक्रिया