राप्तीसोनारी गाउँपालिकामा भूमिहीनका लागि जग्गा नापजाँच सुरु
- BFIS News
- 2026 Apr 19 17:43
नेपालगन्ज, वैशाख ६ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका ले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले जग्गा नापजाँच कार्य सुरु गरेको छ ।
स्थानीय तहमार्फत जमिनको अभिलेखीकरण तथा स्वामित्व सुनिश्चित गर्ने राष्ट्रिय अभियानअन्तर्गत सुरु गरिएको यो कार्यक्रमको पहिलो दिन गाउँपालिका–६ स्थित पदनाहा गाउँबाट नापजाँच कार्य शुभारम्भ गरिएको हो ।
गाउँपालिका अध्यक्ष तप्त पौडेल का अनुसार लामो समयदेखि जग्गा स्वामित्वको कागजात नहुँदा समस्या भोग्दै आएका स्थानीयलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो । उहाँले यो कार्यक्रम चरणबद्ध रूपमा अन्य वडाहरूमा पनि विस्तार गरिने बताउनुभयो ।
नापजाँचपछि भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको वास्तविक तथ्यांक संकलन गरी उनीहरूलाई जग्गा स्वामित्व प्रदान गर्ने प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ ।
यो अभियानले भूमि व्यवस्थापनमा पारदर्शिता ल्याउने र सामाजिक न्याय स्थापना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
वडा नम्बर ६ का वडाअध्यक्ष लवराज खरेल सहित स्थानीय जनप्रतिनिधि, प्राविधिक टोली तथा स्थानीयवासीहरूको उपस्थितिमा नापजाँच सुरु गरिएको हो । प्रारम्भिक चरणमा बस्ती क्षेत्रको अवलोकन तथा विवरण संकलन कार्य भइरहेको छ ।
वडाअध्यक्ष खरेलले भूमिहीन तथा सुकुम्बासी समस्या समाधान स्थानीय सरकारको प्राथमिक दायित्व भएको बताउँदै वास्तविक लाभग्राही पहिचानमा कुनै अनियमितता हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीयवासीहरूले पनि लामो समयदेखिको जग्गा समस्या समाधान हुने आशा व्यक्त गरेका छन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया