फेमे खोलामा बेलिब्रिज सञ्चालन, फिदिम–फालोट सडक पुनः सुचारु
- आयुस बस्नेत
- 2026 Apr 19 17:57
फिदिम, वैशाख ६ गते । पाँचथरको फिदिम नगरपालिका वडा नं. १ र ११ लाई जोड्ने फेमे खोलामा बेलिब्रिज सञ्चालनमा आएको छ ।
२०८१ असोज १२ गते आएको बाढीले फिदिम–फालोट सडक खण्डअन्तर्गत फेमे खोलाको पक्की पुल बगाएपछि लामो समयदेखि आवागमन प्रभावित हुँदै आएको थियो । १९ महिनापछि निर्माण सम्पन्न भई आइतबारदेखि बेलिब्रिज सञ्चालनमा आएको हो ।
पूर्वाधार विकास कार्यालय पाँचथर का सूचना अधिकारी मुकेशराज साहका अनुसार यो बेलिब्रिज कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत निर्माण गरिएको हो ।
पुल निर्माणमा करिब १ करोड ३९ लाख ८२ हजार ५६२ रुपैयाँ खर्च भएको जनाइएको छ । निर्माण कार्य एस एस सुनगाभा निर्माण कम्पनी ले ठेक्का सम्झौतामार्फत सम्पन्न गरेको हो ।
५० मिटर लामो बेलिब्रिज काबेली खोलाबाट ल्याइएको सामग्री प्रयोग गरी ‘पुस एन्ड पुल’ प्रविधिबाट जडान गरिएको हो ।
निर्माण तथा सञ्चालन प्रक्रियामा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका तथा यातायात व्यवसायीहरूको सहकार्य रहेको थियो ।
बाढीले पुरानो पुल बगाएपछि वर्षायाममा सवारी आवागमन ठप्प हुने समस्या देखिँदै आएको थियो । नयाँ बेलिब्रिज सञ्चालनमा आएसँगै अब यातायात सहज हुने र सडक सञ्जाल पुनः प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।
यो सडक खण्ड पाँचथर सदरमुकामलाई भारतको पश्चिम बङ्गालसम्म जोड्ने महत्वपूर्ण मार्ग भएकाले बेलिब्रिज सञ्चालनलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)








.jpg)








प्रतिक्रिया