सर्किट लिमिट बढाउनु शेयर बजारको समाधान होइन, शेयरको ओभर सप्लाइ थेग्ने नीति खोइ ?
- BFIS News
- 2026 Apr 19 21:16
काठमाडौं। नेपाल धितोपत्र बोर्ड र नेप्सेको पछिल्लो कदम नेपाली उखान “काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर” जस्तै देखिएको छ। नेपाली पूँजी बजारले जुन किसिमको दवाव झेलिरहेको छ यसको समाधान तर्फ नीतिगत पहल गर्नु पर्नेमा सर्किट लेभल बढाएर लगानीकर्ता अत्याउने काम गरेको छ।
नेपालको शेयर बजार अहिले स्पष्ट रूपमा ओभर सप्लाइको दबाबमा छ। तर, यसको मुख्य समाधान हुनुपर्ने डिमान्ड बढाउने तर्फ ठोस पहल नदेखिंदा बजारको दीर्घकालीन स्वास्थ्यप्रति चिन्ता बढ्दै गएको छ।
यस्तो अवस्थामा नेपाल धितोपत्र बोर्ड (SEBON) ले केवल प्राविधिक उपाय जस्तै सर्किट लिमिट वा घटबढको दायरा परिवर्तनमा केन्द्रित हुनु पर्याप्त देखिंदैन। शेयर बजार आइपिओको ओभर सप्लाइ थेग्न सकिरहेको छैन। चलाख लगानीकर्ताले प्रिमियममा शेयर जारी गरेर प्राथमिक र दोस्रो बजारबाट पैसा लगिरहेका छन्। अर्को तर्फ आइपिओ मार्फत सूचिकृत नयाँ कम्पनीले नेप्से सूचक तल झर्न नदिए पनि पुराना कम्पनीको मूल्य तल्लो विन्दुमा छ। बास्तवमा शेयर बजारले ओभर सप्लाइ थेग्ने नीतिको पर्खाइमा छ। सरकारले यस तर्फ ध्यान केन्द्रित गर्नु पर्छ।
वास्तवमा, बजार चलायमान हुने आधार लगानीकर्ताको विश्वास, पारदर्शिता र नीतिगत स्थिरता हुन। यदि यी पक्ष कमजोर छन् भने, नियम परिवर्तनले अल्पकालीन तरंग त ल्याउन सक्छ, तर स्थायी समाधान दिन सक्दैन।
तत्काल गर्नुपर्ने प्रमुख सुधारहरू
१. संस्थागत लगानीकर्ता विस्तार
बजारमा दीर्घकालीन स्थायित्व ल्याउन म्युचुअल फण्ड, पेन्सन फण्ड, बीमा कम्पनीहरू जस्ता संस्थागत लगानीकर्ताहरूको सक्रिय सहभागिता बढाउनु आवश्यक छ। यसले डिमान्ड साइड बलियो बनाउँछ।
२. मार्जिन लोन र तरलता सहजता
बैंक तथा वित्तीय संस्थाबाट दिइने शेयर कर्जालाई सहज, सुलभ र लगानीकर्ता मैत्री बनाउनु जरुरी छ। अहिलेको समयमा लगानीकर्ताको मनोविज्ञान नकारात्मक भई यसको उपयोग कम भएको पाईन्छ ।
३. पारदर्शिता र सूचनाको विश्वसनीयता
इनसाइडर ट्रेडिङ नियन्त्रण, समयमै वित्तीय विवरण प्रकाशन र सही सूचना प्रवाह सुनिश्चित गर्न कडाइ आवश्यक छ। यसले लगानीकर्ताको भरोसा बढाउँछ।
४. IPO र FPO आपूर्ति व्यवस्थापन
अत्यधिक प्राथमिक शेयर (IPO/FPO) ल्याउँदा बजारमा सप्लाइ बढेर दबाब पर्छ। त्यसैले आपूर्ति र मागबीच सन्तुलन कायम गर्ने नीति आवश्यक छ।
५. लगानीकर्ता शिक्षा र सचेतना
साना लगानीकर्तालाई बजारको जोखिम, रणनीति र दीर्घकालीन सोंचबारे शिक्षित गर्न कार्यक्रमहरू विस्तार गरिनुपर्छ।
६. नीतिगत स्थिरता र पूर्वानुमानयोग्यता
बारम्बार नियम परिवर्तनले अस्थिरता ल्याउँछ। स्पष्ट, स्थिर र दीर्घकालीन नीति लगानीकर्ताको विश्वासको आधार हो। अहिलेको अवस्थामा बजारमा “सामान धेरै, किन्ने मान्छे कम” छ। यस्तो बेला नियम फेरबदलभन्दा पनि किन्ने शक्ति र विश्वास बढाउने नीति नै प्रभावकारी समाधान हो।
यदि नेपाल धितोपत्र बोर्ड ले डिमान्ड साइड मजबुत बनाउन ध्यान दिएन भने, सीमा परिवर्तन जस्ता कदमहरूले केवल ध्यान मोड्ने काम मात्र गर्नेछन, समाधान दिने होइनन।
जय होस, भय नहोस… जय लगानीकर्ता।
(लेखक तारा फुल्लेल सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष हुन्)
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया