म्याग्दीमा ९ महिनामा ४ हजारभन्दा बढी सवारी कारबाही, ४१ लाखभन्दा बढी जरिवाना असुल
- BFIS News
- 2026 Apr 20 22:16
म्याग्दी, वैशाख ७ गते । म्याग्दीमा चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा सवारी नियम उल्लङ्घन गर्ने ४ हजार ३९५ सवारी साधनलाई कारबाही गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा नियमित चेकजाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ती सवारी साधनलाई कारबाही गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख विशाल परियारका अनुसार कारबाहीमा ट्रक ५०२, बस २७७, जिप तथा कार १,५२२, ट्याक्टर ३९१, मोटरसाइकल १,७०१ तथा अन्य २ सवारी साधन रहेका छन् । ती कारबाहीबाट ४१ लाख ५८ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ ।
त्यस्तै, प्रयोजन विपरित सञ्चालनमा रहेका ११२ सवारी साधनबाट २ लाख १५ हजार रुपैयाँ, मदिरा सेवन गरी सवारी चलाउने ३०९ चालकबाट ६ लाख ४६ हजार ५०० रुपैयाँ र ओभरलोड बोकेका १३५ सवारी साधनबाट १ लाख १ हजार रुपैयाँ जरिवाना असुल गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
सो अवधिमा जिल्लाभित्र १३ वटा सवारी दुर्घटना भएका छन्, जसमा ४ जनाको मृत्यु र २१ जना घाइते भएका छन् ।
ट्राफिक प्रहरीले ९ महिनामा १,६६१ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ५६,७२१ जनालाई सचेत गराएको जनाएको छ ।
यसअघि आर्थिक वर्ष २०७९/८० मा ९,२०० सवारी कारबाही गर्दै ७३ लाख २७ हजार ५०० रुपैयाँ, २०८०/८१ मा ९,१५० सवारी कारबाही गर्दै ६८ लाख ८८ हजार रुपैयाँ तथा गत आर्थिक वर्ष २०८१/८२ मा ७,२६५ सवारी कारबाही गर्दै ५८ लाख ७९ हजार रुपैयाँ जरिवाना असुल गरिएको थियो ।
पछिल्लो समय ट्राफिक नियम कडाइ, संकेत बोर्ड स्थापना, जेब्राक्रस मर्मत तथा सचेतनामूलक कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको छ । स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका सवारीलाई पुरानै अवस्थामा फर्काउने तथा सडक सुरक्षा पूर्वाधार सुधार गर्ने कार्यले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको स्थानीय यातायात व्यवसायी मोहन केसीले बताउनुभयो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)











.jpg)
.jpg)





प्रतिक्रिया