नेपाल राष्ट्र बैंकले १ खर्ब २० अर्ब निक्षेप संकलन गर्दै, १९ दिनका लागि बोलकबोल आह्वान
- BFIS News
- 2026 Apr 24 12:58
काठमाडौँ, वैशाख ११ — नेपाल राष्ट्र बैंकले बजारबाट १ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले १९ दिन अवधिका लागि उक्त रकम उठाउन बोलकबोल आह्वान गरेको जनाएको छ।
वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन तथा ब्याजदर नियन्त्रणका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता खिच्दै आएको छ। सोही नीतिअनुसार यसपटक पनि निक्षेप संकलन गर्न लागिएको हो।
बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। प्राप्त बोल अनुसार न्यूनतम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकताका आधारमा क्रमशः रकम बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलनका लागि शुक्रबार अनलाइन प्रणालीमार्फत बोलकबोल हुनेछ र ब्याजदर पनि सोही प्रक्रियाबाट निर्धारण गरिनेछ। यस उपकरणअन्तर्गत संकलित निक्षेपको साँवा र ब्याज २०८३ वैशाख ३० गते भुक्तानी हुनेछ।
बोल गर्न सकिने न्यूनतम रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको कुल रकमसम्म सीमित हुनेछ।
खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन तरलता बढी देखिएमा राष्ट्र बैंकले ६ महिनासम्मका लागि दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार केन्द्रीय बैंकले आवश्यकताअनुसार यस्तो उपकरण प्रयोग गर्दै आएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया