अबुधाबीमा संक्रमणपछि झापाका युवाका दुवै हात–खुट्टा काटियो
- BFIS News
- 2026 Apr 24 13:00
बिर्तामोड, वैशाख ११ — वैदेशिक रोजगारीका लागि अबुधाबी पुगेका झापाको कनकाई नगरपालिका–५ बेनुबाजाका २६ वर्षीय उमेश खाती गम्भीर संक्रमणपछि दुवै हात र खुट्टा गुमाएर घर फर्किएका छन्।
गत २०८१ मंसिर ११ गते रोजगारीका लागि युएई गएका खाती अबुधाबीस्थित एक होटलमा क्लिनरका रूपमा कार्यरत थिए। विदेशिँदा उनकी श्रीमती गर्भवती थिइन् र परिवारको आर्थिक अवस्था कमजोर रहेकाले उनी नयाँ सपना बोकेर विदेश गएका थिए।
विदेश पुगेको ११ दिनमै छोरी जन्मिएको खबर पाएका खातीलाई करिब एक महिनाअघि उच्च ज्वरो आएको थियो। शौचालय जाने क्रममा बेहोस भएर ढलेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
चिकित्सकका अनुसार उनलाई ‘मेनिन्गोकोकल’ संक्रमण भएको थियो, जसका कारण शरीरमा गम्भीर असर देखिएको थियो। संक्रमण बढ्दै जाँदा उनका दुवै हात र खुट्टा कुहिन थालेपछि उपचारका लागि नेपाल फर्काइएको हो।
नेपाल फर्किएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गत शनिबार उनका दुवै हात र खुट्टा काटिएको छ। हाल उनी झापास्थित घर फर्किसकेका छन्।
परिवारका अनुसार उपचार खर्च जुटाउन घरमा रहेका भैँसी, पाडा र बाच्छासमेत बिक्री गर्नुपरेको छ। उनको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले आर्थिक सहयोग संकलन गरिरहेका छन्।
२६ वर्षकै उमेरमा अंग गुमाएपछि खाती परिवार गम्भीर संकटमा परेको छ। वृद्ध बाबुआमा, श्रीमती र १६ महिनाकी छोरीको भविष्यप्रति परिवार चिन्तित बनेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया