विभिन्न जिल्लामा हावाहुरी र चट्याङको जोखिम, सतर्क रहन आग्रह
- BFIS News
- 2026 Apr 29 11:59
काठमाडौँ । देशका विभिन्न भागमा तीव्र हावाहुरी, मेघगर्जन, चट्याङ तथा असिनासहित वर्षा हुने सम्भावना देखिएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान र मौसमी विश्लेषणका आधारमा प्राधिकरणले देशभर सतर्कता सूचना जारी गरेको हो। प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्ट का अनुसार सुदूरपश्चिमका कञ्चनपुर, डडेल्धुरा र डोटी; लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी; गण्डकी तथा वागमती प्रदेशका नवलपुर र चितवन; मधेस प्रदेशका बारा, पर्सा र धनुषा; तथा कोशी प्रदेशका झापा र मोरङ लगायत आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ। उक्त मौसमी प्रणाली पश्चिम क्षेत्रबाट पूर्वतर्फ सर्ने क्रममा रहेको जनाइएको छ।
प्राधिकरणले हावाहुरी र चट्याङ सुरु भएसँगै सुरक्षित स्थानमा जान, घरभित्र बस्न तथा झ्यालढोका बन्द गर्न सुझाव दिएको छ। खुला स्थानमा आगो बालिएको भए तत्काल निभाउन आग्रह गरिएको छ, किनकि हावाहुरीका कारण आगो फैलिन सक्ने जोखिम रहन्छ। साथै कमजोर संरचना, अग्ला रुख तथा बिजुली वा टेलिफोनका खम्बा नजिक नबस्न र लत्रिएका तार नछुन चेतावनी दिइएको छ।
यात्रामा रहेका व्यक्तिलाई हावाहुरी सुरु भएलगत्तै सुरक्षित स्थानमा सवारी साधन रोक्न र रुखमुनि पार्किङ नगर्न सुझाव दिइएको छ। हवाई उडानको सन्दर्भमा सम्बन्धित निकायबीच समन्वय भइरहेको र मौसम प्रतिकूल भएमा उडान मार्ग परिवर्तन वा डाइभर्ट गर्न सकिने जनाइएको छ।
विपद् व्यवस्थापनका लागि सुरक्षा निकाय, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्वयंसेवकहरूलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ। आकस्मिक अवस्थाका लागि नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी (१११४) र विपद् उद्धारको टोल-फ्री नम्बर (११४९) मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले प्रत्येक दुई घण्टामा मौसमसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गर्ने जनाएको छ। प्राधिकरणले आधिकारिक स्रोतबाट प्रकाशित सूचना तथा मौसम बुलेटिनको नियमित जानकारी लिन पनि सर्वसाधारणलाई आग्रह गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)







.jpg)









प्रतिक्रिया