याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
- BFIS News
- 2026 May 05 12:07
काठमाडौं, वैशाख २२ — याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले वैशाख १६ गतेदेखि उक्त आईपीओ बिक्री खुला गरेको थियो।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ करोड रुपैयाँ मूल्य बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। जसमध्ये ७ लाख कित्ता स्थानीय बासिन्दा र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँट भइसकेको छ। त्यसैगरी, सामूहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीका लागि ४२ हजार कित्ता शेयर पनि वितरण गरिसकिएको कम्पनीले जनाएको छ।
हाल कम्पनीले दोस्रो चरणअन्तर्गत १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
आईपीओ निष्काशनअघि गरिएको रेटिङमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब ८७ करोड ११ लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रति मेगावाट लागत २५ करोड ७३ लाख रुपैयाँ रहेको उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ६ महिना बाँकी छ। आयोजनाको साधारण लगानी फिर्ता अवधि १०.७६ वर्ष र छुट दरमा गणना गरिएको लगानी फिर्ता अवधि १९.८७ वर्ष रहेको कम्पनीले जनाएको छ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया