अर्थ मन्त्रालयद्वारा मन्त्रालयगत बजेट छलफल सुरु, पहिलो दिनमै व्यस्त कार्यक्रम
- BFIS News
- 2026 May 05 20:41
काठमाडौं। अर्थ मन्त्रालयले नौ वटा मन्त्रालयका विभागीय मन्त्रीहरूको सहभागितामा मन्त्रालयगत बजेट छलफलको पहिलो दिनको कार्यक्रम सम्पन्न गरेको छ। सोमबार बिहान ११ बजेबाट सुरु भएको छलफल साँझ साढे ७ बजे सम्पन्न भएको हो।
मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले निर्धारण गरेको समय तालिकाअनुसार सुरु भएको यो छलफल मंगलबारसम्म जारी रहनेछ। पहिलो दिन गृह मन्त्रालयसँग छलफलको सुरुआत गरिएको थियो।
त्यसपछि क्रमशः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग बजेट सम्बन्धी छलफल गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयका अर्थ तथा राजश्व सचिव, बजेट लेखन समितिका संयोजक तथा सदस्यहरू, बजेट तथा कार्यक्रम महाशाखा प्रमुख र विषयगत शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले सम्बन्धित मन्त्रालयका मन्त्री, सचिव तथा जिम्मेवार अधिकारीहरूसँग आगामी आर्थिक वर्षको बजेटको खाका, नीति तथा कार्यक्रम, प्रस्तावित बजेट तथा स्रोत व्यवस्थापनका विषयमा विस्तृत छलफल गरेका थिए।
सो अवसरमा श्रम तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना, शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल लगायत सम्बन्धित मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो। अर्थ मन्त्रालयका अनुसार बाँकी मन्त्रालयहरूसँगको बजेट छलफल मंगलबार सम्पन्न गरिनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया