NIMB Header 2
Nepal Life

पियोर इनर्जीको नाफा ५५ प्रतिशतले बढ्यो, जगेडा कोष सकारात्मक

IME LIFE
  • BFIS News
  • 2026 May 08 13:06
पियोर इनर्जीको नाफा ५५ प्रतिशतले बढ्यो, जगेडा कोष सकारात्मक
United Ajod

काठमाडौं । पियोर इनर्जी लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा उल्लेख्य रूपमा बढेको छ भने जगेडा कोष पनि सकारात्मक अवस्थामा पुगेको छ।

Nepal Life
NIMB

कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७५ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको खुद नाफा करिब ५५ प्रतिशतले बढेको हो। कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ९५ पैसा रहेको छ।

सञ्चालन आम्दानीतर्फ कम्पनीले विद्युत बिक्री तथा अन्य सञ्चालन गतिविधिबाट १७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १८ करोड ७९ लाख रुपैयाँ रहेको थियो। आम्दानीमा सामान्य गिरावट आए पनि वित्तीय खर्च घटेकाले नाफा सुधार भएको देखिएको छ।

कम्पनीको कुल खर्च १६ करोड ५१ लाख रुपैयाँ रहेको छ। त्यसमध्ये वित्तीय खर्च ५ करोड ९४ लाख रुपैयाँ रहेको छ, जुन गत आर्थिक वर्षको तुलनामा कम हो। वित्तीय खर्चमा आएको कमीले कम्पनीको नाफामा सकारात्मक प्रभाव परेको जनाएको छ।

वित्तीय विवरणअनुसार कम्पनीको स्थिर सम्पत्ति २ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। यसमध्ये ‘प्रोपर्टी, प्लान्ट एण्ड इक्यूपमेन्ट’ शीर्षकअन्तर्गत २ अर्ब २ करोड रुपैयाँ रहेको छ।

कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ कायम रहेको छ। त्यस्तै, अघिल्लो आर्थिक वर्षमा १ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको जगेडा कोष चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ५५ लाख रुपैयाँ सकारात्मक भएको छ। यसलाई कम्पनी घाटाबाट क्रमशः बाहिरिँदै गएको संकेतका रूपमा हेरिएको छ। कम्पनीको दीर्घकालीन ऋण १ अर्ब ३४ करोड रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया