वसन्त ऋतुमा हिमाल आरोहण अनुमति बढ्यो, १ अर्ब २५ करोडभन्दा बढी राजस्व संकलन
- BFIS News
- 2026 May 19 13:21
काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशी आरोहीको संख्या बढेको छ।
यस अवधिमा ७९ देशका १ हजार १८१ जना आरोहीले आरोहण अनुमति लिएका छन् भने सरकारलाई १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी राजस्व प्राप्त भएको छ।
पर्यटन विभाग का अनुसार सबैभन्दा धेरै अनुमति सगरमाथा आरोहणका लागि जारी गरिएको छ। विभागका सूचना अधिकारी हिमाल गौतम ले हालसम्म ५५ देशका ४९४ जनाले सगरमाथा आरोहण अनुमति लिएको जानकारी दिएका छन्।
सगरमाथा आरोहणका लागि अनुमति लिनेमा चिनियाँ नागरिकको संख्या सबैभन्दा धेरै रहेको छ। विभागका अनुसार चीनका १०९, अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अस्ट्रेलियाका १५, जापानका १४, नेपालका १२ तथा ब्राजिलका १० जनाले अनुमति लिएका छन्।
त्यसैगरी, ल्होत्से आरोहणका लागि १४३, आमादब्लम का लागि १११, नुप्त्से का लागि ५६, हिम्लुङ हिमाल का लागि ४६, कञ्चनजङ्घा का लागि ३६ तथा धवलागिरि का लागि ३० जनाले अनुमति लिएका छन्। अन्य हिमालका लागि पनि अनुमति जारी गरिएको विभागले जनाएको छ।
विभागले ६ हजार ५०० मिटरभन्दा अग्ला हिमाल आरोहणको अनुमति प्रदान गर्दै आएको छ। पाँच हजार ८०० देखि ६ हजार ५०० मिटर उचाइसम्मका हिमाल आरोहण अनुमति भने नेपाल पर्वतारोहण संघ ले उपलब्ध गराउने व्यवस्था छ।
पर्यटन विभागका अनुसार यस वर्ष विभिन्न हिमाल आरोहण अनुमति शुल्कबाट कुल १ अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपैयाँ राजस्व संकलन भएको छ। त्यसमध्ये सगरमाथाबाट मात्रै १ अर्ब ७ करोड ८६ लाख ९१ हजार ४७५ रुपैयाँ राजस्व प्राप्त भएको विभागले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpeg)



प्रतिक्रिया