Nepal Life

मनसुनजन्य विपद् व्यवस्थापनका लागि नेपाली सेनाको व्यापक तयारी

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 21 08:47
मनसुनजन्य विपद् व्यवस्थापनका लागि नेपाली सेनाको व्यापक तयारी

काठमाडौँ । आसन्न मनसुनलाई लक्षित गर्दै नेपाली सेनाले उद्धार, राहत तथा विपद् प्रतिकार्यका लागि देशव्यापी तयारी तीव्र बनाएको छ।

Nepal Life
NIMB

विगतका वर्षमा सञ्चालन गरिएका उद्धार अभियानबाट प्राप्त अनुभवका आधारमा सेनाले यस वर्षको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याएको जनाएको छ।

नेपाली सेनाका अनुसार बाढी, पहिरो तथा अन्य मनसुनजन्य विपद्का घटनामा तत्काल परिचालन गर्न सकिने गरी जिल्लास्थित गण र गुल्महरूमा आवश्यक फौज तयारी अवस्थामा राखिएको छ। साथै सातै प्रदेशका पृतनामा विशेष क्षमतायुक्त खोज तथा उद्धार टोली उपकरणसहित तैनाथ गरिएको छ।

दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्‍याउन हेलिकप्टरसहित हवाई साधनहरू पनि तयारी अवस्थामा राखिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। काठमाडौँबाहेक सुर्खेत र इटहरीमा एक–एक हेलिकप्टर ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएको छ भने आवश्यकताअनुसार अन्य हवाई साधनलाई पनि परिचालन गर्न सकिने व्यवस्था मिलाइएको छ। मौसम पूर्वानुमानका आधारमा दुई वटा हवाई साधनलाई उपयुक्त क्षेत्रमा पूर्वतैनाथ गर्ने योजना रहेको सेनाले जनाएको छ।

राजमार्ग अवरुद्ध हुने सम्भावित अवस्थालाई ध्यानमा राख्दै धादिङको गजुरी, चितवनको भरतपुर र बाराको जितपुरमा बेलिब्रिज तयारी अवस्थामा राखिएको छ। त्यस्तै, तत्काल जडान गर्न सकिने तीन वटा द्रुत यान्त्रिक पुल गौचरस्थित ब्यारेकमा राखिएका छन्।

विशेष उद्धार कार्यका लागि शीघ्र प्रतिकार्य टोलीलाई काठमाडौँस्थित गौचर ब्यारेकमा तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ। आवश्यक परे हवाई साधनमार्फत उक्त टोलीलाई तत्काल प्रभावित क्षेत्रमा पठाउन सकिने व्यवस्था गरिएको छ।

मनसुनका बेला घाइते तथा प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउन देशभरका सैनिक अस्पतालबाट चिकित्सकसहितको टोली परिचालन गर्न सकिने गरी आवश्यक औषधि, उपकरण र जनशक्ति तयारी अवस्थामा राखिएको सेनाको भनाइ छ। साथै प्रत्येक पृतनामा खाद्यान्न, औषधि र अन्य राहत सामग्री व्यवस्थापन गरिएको छ।

पहिरो पन्छाउने, सडक खुलाउने तथा क्षतिग्रस्त संरचनाको मर्मतका लागि सैनिक इन्जिनियरिङ विभागअन्तर्गतका हेभी इक्विप्मेन्ट र सवारीसाधन पनि तयारी अवस्थामा राखिएको जनाइएको छ।

सेनाले विपद् व्यवस्थापनमा संघीय, प्रदेश र स्थानीय सरकार, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग समन्वयलाई प्राथमिकतामा राखेको जनाएको छ। सोहीअनुसार गत वैशाख २१ देखि २३ गतेसम्म जङ्गी अड्डामा विभिन्न मन्त्रालय, सरकारी निकाय तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहभागितामा ‘अभ्यास हातेमालो’ नामक केन्द्रीय तहको एकीकृत अभ्यास सञ्चालन गरिएको थियो।

सेनाका अनुसार उक्त अभ्यासमार्फत विपद् प्रतिकार्य क्षमता अभिवृद्धि, समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने प्रयास गरिएको हो। यस्ता अभ्यासलाई प्रदेश तथा जिल्ला तहसम्म विस्तार गर्ने तयारीसमेत गरिएको छ।

स्थानीय समुदायको सहभागितामा सामूहिक विपद् प्रतिकार्य तालिमसमेत सञ्चालन गरिएको सेनाले जनाएको छ। सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले मनसुनजन्य विपद्को प्रभावकारी व्यवस्थापनका लागि सबै सरोकारवाला निकायसँग सहकार्य गर्दै जनधनको क्षति न्यूनीकरणमा नेपाली सेना प्रतिबद्ध रहेको बताएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया