सरकार जनतालाई साउन अगाडी खपत विद्युतको भ्याट लगाउ कि नलगाउ? विद्युत प्राधिकरण
- BFIS News
- 2026 Jul 27 03:52
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएसँगै त्यसको कार्यान्वयनका क्रममा देखिएका केही कानुनी तथा व्यावहारिक अन्योलबारे स्पष्टिकरण माग गर्दै आन्तरिक राजस्व विभागलाई पत्राचार गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आन्तरिक राजस्व विभाग, लाजिम्पाटलाई पठाएको पत्रमा आर्थिक ऐन, २०८३ अनुसार विद्युत शक्तिमा मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था भएपछि प्राधिकरण २०८३ साउन १ गतेदेखि भ्याटमा दर्ता भएको उल्लेख गरिएको छ। सोही मितिबाट कर बिजक जारी गर्न सुरु गरिए पनि केही विषयमा द्विविधा उत्पन्न भएकाले विभागबाट आधिकारिक स्पष्टिकरण माग गरिएको हो।
प्राधिकरणले पहिलो प्रश्नका रूपमा विद्युत उपभोग अवधि र बिलिङ मितिबीचको सम्बन्धबारे स्पष्टता खोजेको छ। पत्रमा कुनै उपभोक्ताले २०८३ असार १ देखि ३२ गतेसम्म उपभोग गरेको विद्युतको बिल २०८३ साउन १ गते जारी भएको अवस्थामा उक्त बिलमा मूल्य अभिवृद्धि कर लाग्ने वा नलाग्ने भन्ने विषयमा विभागको धारणा मागिएको छ।
त्यस्तै, प्राधिकरणले आफ्नो स्वीकृत ट्यारिफअनुसार विद्युत महसुलमा लाग्ने न्यूनतम चार्ज (Minimum Charge) वा डिमान्ड चार्ज (Demand Charge) मा पनि भ्याट लागू हुने वा नहुने विषयमा समेत स्पष्टिकरण माग गरेको छ। प्राधिकरणले साउन १ गतेदेखि जारी गरिएका कर बिजकमा यी शुल्कमा समेत भ्याट समावेश गर्न थालेको उल्लेख गर्दै त्यसको कानुनी आधारबारे विभागको आधिकारिक व्याख्या अनुरोध गरेको छ।
आर्थिक ऐन, २०८३ मार्फत विद्युत शक्तिलाई मूल्य अभिवृद्धि करको दायरामा ल्याइएपछि त्यसको कार्यान्वयनसँग सम्बन्धित व्यवहारिक पक्षमा देखिएका अन्योल हटाउन प्राधिकरणले राजस्व विभागको मार्गदर्शन मागेको हो। विभागको स्पष्टिकरणपछि विद्युत महसुलमा भ्याटको कार्यान्वयन प्रक्रिया थप स्पष्ट हुने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया