रिलायबल समृद्धि योजना–२ को इकाई खरिदका लागि आज अन्तिम दिन
- BFIS News
- 2026 May 22 09:06
काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट ले बिक्री खुला गरेको ‘रिलायबल समृद्धि योजना–२’ अन्तर्गतको सामूहिक लगानी कोषमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
मागभन्दा बढी आवेदन परेकाले निर्धारित समयअघि नै निष्काशन बन्द गर्न लागिएको हो।
कम्पनीले वैशाख २९ गतेदेखि उक्त बन्दमुखी योजनाको इकाई बिक्री खुला गरेको थियो। प्रारम्भिक तालिकाअनुसार आवेदन दिने समय जेठ १२ गतेसम्म तोकिए पनि आवश्यकभन्दा बढी आवेदन प्राप्त भएपछि आज बैंकिङ समयपछि निष्काशन बन्द गरिने जनाएको छ।
रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १० वर्षे बन्दमुखी योजनाका लागि प्रतिइकाई १० रुपैयाँ दरमा कुल १० करोड इकाई बिक्रीमा ल्याइएको हो। यसअनुसार योजनाको आकार १ अर्ब रुपैयाँ बराबरको रहेको छ।
जारी गरिएको कुल इकाईमध्ये १५ प्रतिशत सुरक्षित गरिएको छ। त्यसअन्तर्गत १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड लाई तथा १० लाख इकाई योजना व्यवस्थापकका लागि छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो।
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
योजनाको निष्काशन तथा बिक्री प्रबन्धक रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको छ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत दिन सकिनेछ। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेड द्वारा सञ्चालित ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध रहेको छ।
योजनाको रेटिङका क्रममा CARE Ratings Nepal ले कोष प्रवर्द्धकलाई ‘केयर एनपी सिंगल ए माइनस’ इस्यूअर रेटिङ तथा योजना व्यवस्थापकलाई ‘केयर एनपी एएमसी क्वालिटी ४ प्लस’ रेटिङ प्रदान गरेको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया