मन्त्रिपरिषद्का चार निर्णय, धानको समर्थन मूल्यदेखि उड्डयन प्राधिकरणमा नियुक्तिसम्म
- BFIS News
- 2026 May 25 17:43
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटो धान र मध्यम धानको समर्थन मूल्य तोक्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेल ले मन्त्रिपरिषद् बैठकले चारवटा महत्वपूर्ण निर्णय गरेको जानकारी दिएका छन् । बैठकले आगामी आर्थिक वर्षका लागि मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ तथा मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ८ सय ६० रुपैयाँ कायम गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, नेपाल र चीनलाई जोड्ने विद्युत प्रसारण लाइन आयोजना ‘चिलिमे–केरुङ’ कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तर पत्र स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । उक्त आयोजना नेपाल–चीन ऊर्जा सहकार्यअन्तर्गत महत्वपूर्ण परियोजनाका रूपमा हेरिएको छ ।
बैठकले सहकारी क्षेत्रमा देखिएको बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय समेत गरेको छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्याका विषयमा आयोगले अध्ययन तथा अनुसन्धान गरेको थियो ।
यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण को महानिर्देशकमा सहसचिव मुकेश डंगोल लाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया