Nepal Life

डिडिसीले २० दिनमा किसानलाई गर्‍यो १६ करोड रुपैयाँ भुक्तानी, खर्च कटौतीमार्फत सुधार योजना अघि

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 26 10:29
डिडिसीले २० दिनमा किसानलाई गर्‍यो १६ करोड रुपैयाँ भुक्तानी, खर्च कटौतीमार्फत सुधार योजना अघि

काठमाडौं। आर्थिक संकट र किसानको बक्यौता भुक्तानी समस्यासँग जुधिरहेको दुग्ध विकास संस्थान (डिडिसी) ले पछिल्लो १५ देखि २० दिनको अवधिमा किसानलाई १६ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ।

Nepal Life
NIMB

संस्थानले आन्तरिक खर्च नियन्त्रण, बजार विस्तार तथा व्यवस्थापन सुधारमार्फत वित्तीय अवस्था सुधार गर्ने योजना अघि सारेको हो।

संस्थानका महाप्रबन्धक सरन कुमार पाण्डे ले किसानको भुक्तानीलाई पहिलो प्राथमिकतामा राखेर अन्य खर्चमा कटौती गरिएको बताएका छन्। उनका अनुसार दैनिक करिब १ करोड रुपैयाँ किसानलाई भुक्तानी भइरहेको छ। केही महिनाअघि ५८ देखि ६० करोड रुपैयाँसम्म पुगेको बक्यौता क्रमशः घट्दै गएको संस्थानले जनाएको छ।

संस्थानले आगामी ६० देखि ९० दिनभित्र कार्यान्वयन गर्ने गरी ३२ बुँदे आन्तरिक कार्ययोजना तयार गरेको छ। योजनामा प्रशासनिक खर्च कटौती, बजार विस्तार, किसानको नियमित भुक्तानी, उत्पादन गुणस्तर सुधार तथा खरिद–ढुवानी प्रक्रियामा हुने चुहावट नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ।

महाप्रबन्धक पाण्डेका अनुसार कर्मचारीलाई दिइँदै आएको दूध र घिउसम्बन्धी अतिरिक्त सुविधा कटौती गर्दा मात्रै वार्षिक करिब ३ करोड रुपैयाँ बचत हुने अनुमान गरिएको छ। साथै, दूध संकलनदेखि वितरणसम्म हुने वित्तीय चुहावट नियन्त्रणका लागि निगरानी कडा बनाइएको उनले बताए।

संस्थानले हाल करिब ७० देखि ७५ करोड रुपैयाँ बराबरको मौज्दात रहेको जनाएको छ। यसमा मुख्य रूपमा धुलो दूध र बटर समावेश छन्। संस्थानका अनुसार सुख्खा मौसममा बजार आपूर्ति व्यवस्थापनका लागि यस्ता वस्तुको मौज्दात आवश्यक हुने गरेको छ।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाह ले डिडिसीका उत्पादन प्रयोग गर्न गरेको सार्वजनिक आग्रहपछि व्यापारमा केही वृद्धि देखिएको संस्थानको दाबी छ। नयाँ वितरक तथा डिलरहरूको चासो बढेको र वैदेशिक बजारबाट समेत प्रस्ताव आउन थालेको पाण्डेले बताएका छन्।

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी ले किसानको बक्यौता दुई महिनाभित्र भुक्तानी गर्ने प्रतिबद्धता जनाएकी थिइन्। डिडिसीले मन्त्रालयसँगको समन्वयमा सो लक्ष्य पूरा गर्ने तयारी भइरहेको जनाएको छ।

संस्थानले आगामी दिनमा तरल दूधसँगै अन्य दुग्धजन्य उत्पादनको विविधीकरणमा समेत ध्यान दिने योजना अघि सारेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया