Nepal Life

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने ६ जना पक्राउ

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 May 28 09:32
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने ६ जना पक्राउ

काठमाडौं । आकर्षक तलबसहित विभिन्न देशमा रोजगारीका लागि पठाइदिने भन्दै सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

Nepal Life
NIMB

पक्राउ परेकामाथि वैदेशिक रोजगारीको नाममा लाखौं रुपैयाँ ठगी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा उदयपुर रौतामाई गाउँपालिका–४ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–७ बस्ने ४५ वर्षीय रामबहादुर आले मगर, सिराहा लहान नगरपालिका–६ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३२ वर्षीय आशिष कार्की, काठमाडौं टोखा नगरपालिका–४ बस्ने ७९ वर्षीय लोकबहादुर श्रेष्ठ, टोखा नगरपालिका–३ बस्ने ४१ वर्षीया तुलसा पुन मगर, पाल्पा तानसेन नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–२९ बस्ने ४८ वर्षीय कृष्णप्रसाद पोखरेल तथा काठमाडौं चन्द्रागिरी नगरपालिका–११ बस्ने २९ वर्षीय प्रबिन श्रेष्ठ रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार रामबहादुर आले मगरले क्यानडा पठाइदिने आश्वासन दिई ४ जनाबाट ३९ लाख ५८ हजार रुपैयाँ उठाएका थिए। त्यस्तै, आशिष कार्कीले न्यूजिल्याण्ड पठाइदिने भन्दै ३ जनाबाट १३ लाख रुपैयाँ लिएको आरोप छ।

यसैगरी, लोकबहादुर श्रेष्ठले बेलायत पठाइदिने भन्दै एक जनाबाट १९ लाख रुपैयाँ, तुलसा पुन मगरले अमेरिका पठाइदिने भन्दै १० लाख रुपैयाँ, कृष्णप्रसाद पोखरेलले युएई पठाइदिने भन्दै १० लाख रुपैयाँ तथा प्रबिन श्रेष्ठले सर्बिया पठाइदिने प्रलोभनमा ६ लाख रुपैयाँ लिएको प्रहरीको भनाइ छ। रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।

प्रहरीले रामबहादुर आले मगर र आशिष कार्कीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको जनाएको छ। अन्य चार जनालाई भने आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया