जलजलामा ‘गोठस्टे’ सुरु, हिमाली पर्यटनको नयाँ आकर्षण बन्दै
- BFIS News
- 2026 May 28 09:35
म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–२ स्थित जलजलामा पर्यटकलाई लक्षित गर्दै ‘गोठस्टे’ सेवा सञ्चालनमा ल्याइएको छ।
उच्च हिमाली क्षेत्रमा होटल तथा अन्य स्थायी संरचना नहुँदा स्थानीय पशुपालकले आफ्नै गोठमा खाने र बस्ने व्यवस्था मिलाउन थालेपछि जलजला नयाँ पर्यटकीय गन्तव्यका रूपमा परिचित हुन थालेको हो।
समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा रहेको जलजला ढोरपाटन शिकार आरक्षभित्र पर्छ। गुरिल्ला पदमार्ग तथा म्याग्दी हुँदै डोल्पा जोड्ने मार्गमा पर्ने यस क्षेत्रमा स्थायी बस्ती, होटल वा रेष्टुराँ छैन। आरक्षको नीतिअनुसार पक्की संरचना निर्माण गर्न नमिल्ने भएकाले स्थानीयले गोठमै पर्यटक राख्ने व्यवस्था सुरु गरेका हुन्।
गोठबास सञ्चालक फुलबहादुर विश्वकर्माका अनुसार पर्यटकको माग बढेपछि गोठमै खानपिन र बासको व्यवस्था मिलाइएको हो। उनका अनुसार गोठबासका लागि पर्यटकले अग्रिम बुकिङ गर्नुपर्ने व्यवस्था गरिएको छ। एकैपटक धेरै पाहुना आए पालो मिलाएर बस्ने व्यवस्था गरिँदै आएको उनले बताए।
स्थानीयका अनुसार म्याग्दी–ढोरपाटन तथा पूर्वी रुकुम जोड्ने सडक सञ्चालनमा आएपछि जलजलामा आन्तरिक पर्यटकको आगमन बढेको छ। अहिले दैनिक रूपमा जिप, मोटरसाइकल र निजी सवारीमार्फत पर्यटक पुग्ने गरेका छन्।
गोठबासमा स्थानीय परिकारका रूपमा ढिडो, आटो, च्याउ, टुसा, ढकायोको तरकारी, दूध, दही, मोही तथा खसीको मासु उपलब्ध गराइन्छ। पर्यटक प्रतापजङ्ग थापाले गोठबासको सुविधाले टेन्ट बोकेर जानुपर्ने वा ओडार खोजेर रात बिताउनुपर्ने बाध्यता हटेको बताए। उनका अनुसार गोठमा बस्दा घुम्ती पशुपालन संस्कृतिको प्रत्यक्ष अनुभव गर्न सकिन्छ।
जलजला क्षेत्र धौलागिरि गाउँपालिकाका विभिन्न गाउँका बासिन्दाको परम्परागत चरन क्षेत्रसमेत हो। बर्खायाममा यहाँ भेडाबाख्रा, गाईभैँसी तथा घोडाका अस्थायी गोठ लगाउने चलन छ।
बेनीदेखि करिब १२२ किलोमिटर दूरीमा रहेको तकसेरा सडकमार्ग खुलेपछि ढोरपाटन, पूर्वी रुकुम र म्याग्दी जोड्ने पर्यटकीय रुटका रूपमा जलजलाको प्रयोग बढ्न थालेको छ। मोटरसाइकल र चारपाङ्ग्रे सवारीमार्फत साहसिक यात्रा गर्नेहरूका लागि पनि यो क्षेत्र आकर्षक गन्तव्य बनेको स्थानीयको भनाइ छ।
जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल अवलोकन गर्न सकिन्छ। यहाँको समथर फाँट, बदलिँदो मौसम, हिमाली हावापानी, गुराँसका जंगल तथा वन्यजन्तु पनि पर्यटक आकर्षणका प्रमुख आधार मानिन्छन्। यस क्षेत्रको जंगल रेडपाण्डाको बासस्थानका रूपमा समेत परिचित छ।
धौलागिरि गाउँपालिकाले जलजलामा खानेपानी र सार्वजनिक शौचालय निर्माणको काम अघि बढाएको जनाएको छ। गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार गोठबासको क्षमता विस्तार गर्न आरक्षसँग समन्वय गरेर अस्थायी टहरा र गोठ निर्माणको पहल भइरहेको छ। चालु आर्थिक वर्षमा खानेपानी र शौचालय निर्माणका लागि नौ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनले जानकारी दिए।
मुनाबाट जिप वा मोटरसाइकलमार्फत करिब दुई घण्टामा जलजला पुग्न सकिन्छ। ढोरपाटनको पाखाथरबाट कच्ची सडक हुँदै करिब डेढ घण्टाको यात्रापछि पनि जलजला पुग्ने व्यवस्था रहेको छ। पैदल यात्रा गर्नेहरूलाई भने दुवै मार्गबाट पाँचदेखि छ घण्टासम्म लाग्ने स्थानीयले बताएका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया