विदेशी मुद्रा सञ्चितिको अतिरिक्त हिस्सा दीर्घकालीन लगानीमा लैजाने तयारी, ‘सोभरेन वेल्थ फन्ड’ अवधारणामा सरकार
- BFIS News
- 2026 May 31 17:41
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकसँग रहेको आवश्यकताभन्दा बढी विदेशी मुद्रा सञ्चितिको केही अंशलाई उच्च प्रतिफल प्राप्त हुने दीर्घकालीन लगानीमा परिचालन गर्ने उद्देश्यसहित ‘सोभरेन वेल्थ फन्ड’ (सार्वभौम सम्पत्ति कोष) स्थापना गर्ने अवधारणा अघि बढाइएको बताएका छन्।
अर्थ मन्त्रालयद्वारा आइतबार आयोजित बजेटपछिको पत्रकार सम्मेलनमा गभर्नर पौडेलले हाल नेपालसँग रहेको विदेशी मुद्रा सञ्चिति अन्तर्राष्ट्रिय मापदण्डअनुसार आवश्यक स्तरभन्दा धेरै माथि पुगेको जानकारी दिए। उनका अनुसार सामान्यतया ६ देखि ७ महिनासम्मको आयात धान्न सक्ने सञ्चिति पर्याप्त मानिए पनि नेपालसँग अहिले १८ महिनाभन्दा बढीको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ।
गभर्नर पौडेलले हाल सञ्चितिको अधिकांश हिस्सा छोटो अवधिका तरल वित्तीय साधनमा राखिएकाले त्यसबाट प्राप्त हुने प्रतिफल सीमित रहेको बताए। यस्ता लगानीबाट वार्षिक प्रतिफल ४ प्रतिशतभन्दा कम प्राप्त भइरहेको उल्लेख गर्दै उनले अतिरिक्त सञ्चितिलाई बढी प्रतिफल दिने दीर्घकालीन लगानीतर्फ मोड्ने विषयमा अध्ययन भइरहेको जानकारी दिए।
उनका अनुसार प्रस्तावित सोभरेन वेल्थ फन्डमार्फत विदेशी मुद्रा सञ्चितिको एक हिस्सा दीर्घकालीन तथा तुलनात्मक रूपमा उच्च प्रतिफलयुक्त लगानी क्षेत्रमा परिचालन गर्ने योजना बनाइएको हो।
पत्रकार सम्मेलनमा गभर्नर पौडेलले बजेटमा उल्लेख गरिएको विषयलाई स्पष्ट पार्दै नेपाल राष्ट्र बैंकले प्रत्यक्ष रूपमा पेमेन्ट गेटवे सञ्चालन गर्ने कुनै योजना नरहेको बताए। उनले राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागको नेतृत्वमा ‘फिनटेक मार्केटप्लेस’ विकास गर्ने अवधारणामा काम भइरहेको जानकारी दिए।
उनका अनुसार डिजिटल भुक्तानी सेवा प्रदायक, वित्तीय प्रविधि कम्पनी तथा अन्य सम्बन्धित पक्षलाई एउटै प्लेटफर्ममा जोडेर डिजिटल वित्तीय प्रणालीलाई थप व्यवस्थित र एकीकृत बनाउन फिनटेक मार्केटप्लेसले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यसैबीच, सम्पत्ति व्यवस्थापन कम्पनी (एसेट म्यानेजमेन्ट कम्पनी–एएमसी) सम्बन्धी संरचना अझै अन्तिम चरणमा नपुगेको गभर्नर पौडेलले बताए। प्रारम्भिक अवधारणाअनुसार सरकार तथा सार्वजनिक संस्थानहरूको सहभागितामा यस्तो कम्पनी स्थापना गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया