श्रम स्वीकृतिका लागि नयाँ मापदण्ड लागू, स्वचालित प्रणालीमार्फत सेवा प्रदान गरिने
- BFIS News
- 2026 Jun 02 09:22
काठमाडौं । वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृतिको प्रक्रिया स्वचालित प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था लागू गरेको छ।
विभागले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई लक्षित गर्दै अनलाइनमार्फत पुनः श्रम स्वीकृति प्राप्त गर्न आवश्यक नयाँ शर्त तथा मापदण्ड सार्वजनिक गरेको हो।
वैदेशिक रोजगार विभागले पुनः श्रम स्वीकृतिको सेवा स्वचालित अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। विभागका अनुसार वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले उक्त प्रणाली लागू गरिएको हो।
विभागले जारी गरेको सूचनाअनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृतिका लागि आवेदन दिनुअघि केही अनिवार्य शर्तहरू पूरा भएको हुनुपर्नेछ। यसअन्तर्गत आवेदकले यसअघि श्रम स्वीकृति लिएको सोही देश र कम्पनीका लागि मात्र पुनः श्रम स्वीकृतिको आवेदन दिन पाउनेछन्। कम्पनी वा रोजगारदाता परिवर्तन भएको अवस्थामा भने यो व्यवस्था लागू नहुने जनाइएको छ।
नयाँ मापदण्डअनुसार आवेदकसँग कम्तीमा तीन महिनासम्म वैध रहने राहदानी हुनुपर्नेछ। साथै, सम्बन्धित देशको भिसा वैध रहेको, रोजगारदाता कम्पनीसँग करार सम्झौता भएको, सामाजिक सुरक्षा कोषमा आवश्यक रकम जम्मा गरिएको तथा वैदेशिक रोजगार कल्याणकारी कोषमा योगदान गरेको हुनुपर्नेछ।
त्यसैगरी, आवधिक जीवन बिमा गरिएको प्रमाणसमेत अनिवार्य गरिएको विभागले जनाएको छ। तोकिएका सबै शर्त पूरा भएपछि मात्र प्रणालीले पुनः श्रम स्वीकृतिको प्रक्रिया अघि बढाउनेछ।
विभागका अनुसार अनलाइन सेवालाई थप पारदर्शी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन यी मापदण्ड लागू गरिएको हो। आवश्यक कागजात वा शर्त पूरा नभएका आवेदनहरू प्रणालीबाट स्वतः अस्वीकृत हुने भएकाले आवेदन दिनुअघि सबै विवरण सुनिश्चित गर्न विभागले सेवाग्राहीलाई आग्रह गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpeg)



प्रतिक्रिया