NIMB Header 2
Nepal Life

शिखर नगरपालिकामा अतिथि सत्कार खर्चबारे महालेखा प्रतिवेदनले उठायो प्रश्न

IME LIFE
  • BFIS News
  • 2026 Jun 02 13:08
शिखर नगरपालिकामा अतिथि सत्कार खर्चबारे महालेखा प्रतिवेदनले उठायो प्रश्न
United Ajod

काठमाडौँ । डोटीको शिखर नगरपालिकाले एक वर्षको अवधिमा अतिथि सत्कार शीर्षकमा ठूलो रकम खर्च गरेको तथ्य सार्वजनिक भएको छ।

 

Nepal Life
NIMB

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा अतिथि सत्कारमा मात्रै २७ लाख १४ हजार ९३८ रुपैयाँ खर्च गरेको देखिएको छ। यो रकम सोही अवधिमा नगरपालिकाले संकलन गरेको कुल आन्तरिक आय ७८ लाख ३५ हजार ३३० रुपैयाँको ३४.६५ प्रतिशत हो।

स्थानीय तहको सीमित आन्तरिक स्रोतको ठूलो हिस्सा अतिथि सत्कारमा खर्च गरिएको देखिएपछि सार्वजनिक स्रोतको उपयोगको प्रभावकारिता र औचित्यमाथि महालेखाले प्रश्न उठाएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यलाई आधार बनाउनुपर्ने स्पष्ट व्यवस्था रहेको छ। सोही आधारमा प्रमुख प्रशासकीय अधिकृतले बजेट कार्यान्वयन गर्दा यी सिद्धान्तहरूको पालना गर्नुपर्ने महालेखाले उल्लेख गरेको छ।

महालेखाले आन्तरिक आयको अवस्था समेत विचार गरी खर्च व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाले भने उक्त खर्चलाई स्वाभाविक र आवश्यक रहेको दाबी गरेका छन्। उनका अनुसार विभिन्न सरकारी निकाय, प्रदेश तथा संघीय सरकारका प्रतिनिधि, अनुगमन टोली, विकास साझेदार तथा अन्य स्थानीय तहका प्रतिनिधिहरूको नियमित आगमन हुने भएकाले स्वागत, खानपिन तथा बसोबास व्यवस्थापनमा उक्त रकम खर्च भएको हो।

नगर प्रमुख दीर्घ बलायरले पनि अतिथिहरूको स्वागत तथा व्यवस्थापनमा खर्च भएको स्वीकार गर्दै संघीय तथा प्रदेश सरकारका अधिकारी र अन्य प्रतिनिधिहरूको नियमित आगमन हुने भएकाले यस्तो खर्च आवश्यक हुने बताएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया