बजेटले गरिब, दलित र दुर्गम क्षेत्रलाई बेवास्ता गरेको आरोप, अर्थमन्त्रीको शैलीप्रति सांसद महर असन्तुष्ट
- BFIS News
- 2026 Jun 16 14:33
काठमाडौं । नेकपा एमालेका सचेतक तथा सांसद ऐनबहादुर महर ले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै यसले जनअपेक्षा सम्बोधन गर्न नसकेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले वर्तमान सरकारबाट आर्थिक तथा सामाजिक रूपान्तरणको आधार तयार गर्ने खालको महत्वाकांक्षी बजेट आउने अपेक्षा गरिए पनि प्रस्तुत बजेट त्यसअनुसार नभएको टिप्पणी गरे।
उनले बलियो सरकारबाट मुलुकको विकास र परिवर्तनलाई गति दिने नीति तथा कार्यक्रमसहितको बजेट आउने विश्वास रहेको उल्लेख गर्दै बजेटले त्यस्तो अनुभूति गराउन नसकेको बताए। महरले अर्थमन्त्रीप्रति आफूले उच्च अपेक्षा राखेको भए पनि बजेटको विषयवस्तुभन्दा बढी उनको प्रस्तुतिकरण शैली र व्यवहारले निराश बनाएको धारणा व्यक्त गरे।
महरका अनुसार अर्थमन्त्रीको व्यवहार तथा प्रतिपक्षप्रतिको दृष्टिकोणले उनको विद्वत्तामाथि नै प्रश्न उठाएको छ। उनले अर्थमन्त्री प्रतिपक्षप्रति हेपाहा र अपमानजनक ढंगले प्रस्तुत भएको आरोप लगाउँदै संसदप्रतिको सम्मान र सहकार्यको भावना कमजोर देखिएको बताए।
सांसद महरले बजेट विभेदकारी रहेको दाबी गर्दै यसले दुर्गम क्षेत्र, गरिब तथा विपन्न समुदाय, महिला, बालबालिका, दलित र पछाडि पारिएका वर्गका आवश्यकता समुचित रूपमा सम्बोधन गर्न नसकेको उल्लेख गरे।
उनले प्रस्तुत बजेटलाई गैरजिम्मेवार र यथार्थभन्दा टाढाको दस्तावेजको संज्ञा दिँदै सरकार जनमत र जनअपेक्षाको सम्मान गर्न असफल भएको आरोप लगाए। सामाजिक न्याय, समावेशी विकास तथा क्षेत्रीय सन्तुलन कायम गर्ने अवसर बजेटमार्फत गुमाइएको उनको टिप्पणी थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया