राहदानी खरिद प्रकरणमा विभागीय महानिर्देशक अर्याल पक्राउ
- BFIS News
- 2026 Jun 16 14:38
काठमाडौं । राहदानी छपाइ तथा खरिद प्रक्रियासम्बन्धी अनियमितताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।
आयोगले उक्त प्रकरणमा अनुसन्धान अगाडि बढाउँदै अर्याललाई पक्राउ गरेको जनाएको छ।
सुरक्षा स्रोतका अनुसार अर्याललाई सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बालुवाटारमा भएको छलफलपछि अख्तियारले नियन्त्रणमा लिएको हो। राहदानी छपाइ प्रक्रियामा देखिएको ढिलाइ र प्रक्रियागत विषयबारे छलफलका लागि उनलाई बोलाइएको बताइएको छ।
यसै प्रकरणमा व्यवसायी सिद्धार्थ थापामाथि पनि अनुसन्धान भइरहेको स्रोतले जनाएको छ। उनी राष्ट्रियसभा सदस्य सुनिल थापाका छोरा हुन्। स्रोतका अनुसार थापा पनि सादा पोशाकका सुरक्षाकर्मीको निगरानीमा रहेका छन्।
अनुसन्धानको केन्द्रमा राहदानी छपाइसम्बन्धी ठेक्का प्रक्रिया रहेको बताइएको छ। पुरानो सेवा प्रदायक कम्पनीसँगको सम्झौता समाप्त भएपछि नयाँ कम्पनी छनोट गर्ने क्रममा भएको भनिएको ढिलाइ र प्रक्रियागत विषयबारे अख्तियारले अध्ययन गरिरहेको छ।
हाल राहदानी छपाइका लागि जर्मनीस्थित मुलबाउर र भेरिडोस कम्पनी छनोट भएका छन्। तर, छपाइ प्रक्रिया कार्यान्वयनमा ढिलाइ हुँदा राहदानी सेवा प्रभावित भएको बताइएको छ।
अख्तियारले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया