चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदान कार्यविधि स्वीकृत गर्यो
- BFIS News
- 2026 Jun 16 14:46
काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
आयोगको निर्णयसँगै निःशुल्क छात्रवृत्ति उपलब्ध गराउने शिक्षण संस्थालाई अनुदान वितरण गर्ने कानुनी प्रक्रिया अघि बढ्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले कार्यविधि स्वीकृत गरी जारी गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएपछि आयोगले कार्यविधि पारित गरेको हो। यससँगै विगतदेखि देखिएको कानुनी अन्योलता अन्त्य भएको दाबी गरिएको छ।
नेपाल राजपत्रमा प्रकाशित ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४(ख) थपिएपछि आयोगलाई आवश्यक निर्देशिका तथा कार्यविधि निर्माण गर्ने कानुनी आधार प्राप्त भएको थियो।
यसअघि विधायन ऐन, २०८१ को दफा ३५ कार्यान्वयनमा आएपछि आयोगका प्रचलित निर्देशिका तथा कार्यविधिहरू स्वतः निष्क्रिय बनेका कारण छात्रवृत्ति व्यवस्थापनसम्बन्धी विषयमा कानुनी रिक्तता उत्पन्न भएको थियो।
आयोगका अनुसार असार १ गते अर्थ मन्त्रालय तथा शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहित सहमति प्राप्त भएपछि नयाँ कार्यविधि स्वीकृतिको प्रक्रिया अघि बढाइएको हो।
नयाँ कार्यविधिले सार्वजनिक शिक्षण संस्थामा अध्ययन गर्ने विद्यार्थीलाई प्रदान गरिने निःशुल्क छात्रवृत्ति तथा स्नातकोत्तर तहका डिएम र एमसिएचसहितका कार्यक्रमका लागि उपलब्ध गराइने छात्रवृत्तिबापत अनुदान वितरणको व्यवस्था गरेको छ।
यस व्यवस्थाअनुसार आयोगले चिकित्साशास्त्रका विभिन्न तहका कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थालाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान उपलब्ध गराउन सक्नेछ।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको सहअध्यक्षता रहेको थियो। साथै आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरी तथा अन्य सदस्यहरूको पनि सहभागिता रहेको थियो।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया