धादिङका तीन उत्कृष्ट कृषि उद्यमी सम्मानित, जनही ५० हजार नगद पुरस्कार प्रदान
- BFIS News
- 2026 Jun 18 13:39
धादिङबेसी, असार ४ । धादिङका तीन जना उत्कृष्ट कृषि उद्यमी नगद पुरस्कारसहित सम्मानित भएका छन्।
कृषि क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन गर्दै कृषकलाई आत्मनिर्भर र व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरिएको कृषि उद्यम द्रुतिकरण कार्यक्रमअन्तर्गत उनीहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुनेमा नीलकण्ठ नगरपालिका–१० का बुद्धिप्रसाद बुर्लाकोटी, सिद्धलेक गाउँपालिका–२ की रोशिका गुरुङ र सिद्धलेक गाउँपालिका–६ का रामकुमार श्रेष्ठ रहेका छन्।
कार्यक्रमका व्यवसाय विकास अधिकृत सुशील खनालका अनुसार सम्मानित तीनै जना कृषकलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।
त्यसैगरी, नीलकण्ठ नगरपालिका–८ की विमला कोइरालालाई १० हजार रुपैयाँसहित सान्त्वना पुरस्कार प्रदान गरिएको छ।
तरकारी मूल्य शृङ्खलामा नवीनता परियोजनाअन्तर्गत विगत दुई वर्षदेखि नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाका १ हजार ५०९ घरधुरीका कृषकलाई ६० वटा समूह बनाएर तालिम प्रदान गरिएको थियो।
ती समूहबाट प्राप्त ६६ आवेदनमध्ये उत्कृष्ट २५ कृषक छनोट गरी व्यवसाय विकाससम्बन्धी विशेष तालिम दिइएको थियो। तालिमपछि कृषकहरूले कृषि व्यवसाय विस्तारका लागि कार्ययोजना तयार गरी कार्यान्वयन गरेका थिए।
कार्ययोजनाको कार्यसम्पादन, स्थलगत अनुगमन तथा मूल्याङ्कनका आधारमा उत्कृष्ट १० कृषि उद्यमी छनोट गरी यसअघि जनही २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
त्यसमध्ये व्यवसायको दीर्घकालीन सोच, नवीनता, प्रभावकारिता र प्रस्तुत योजनाको मूल्याङ्कनका आधारमा उत्कृष्ट तीन कृषि उद्यमी छनोट गरिएको व्यवसाय विकास अधिकृत खनालले जानकारी दिनुभयो।
नीलकण्ठ नगरपालिकाको समन्वयमा हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र एक्सन नेपाल धादिङको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो।
सम्मानित कृषक रोशिका गुरुङले पुरस्कारले आफूलाई थप आत्मविश्वास र हौसला मिलेको बताउँदै प्राप्त रकम कृषि व्यवसायमै लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले कृषकलाई अर्गानिक खेतीतर्फ आकर्षित हुन आग्रह गर्नुभयो। उहाँले कृषि क्षेत्रमा आवश्यक ऋण तथा वित्तीय पहुँच विस्तारका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।
नगर प्रमुख ढुङ्गानाका अनुसार नगरपालिकाले ‘मेयर उद्यमशीलता कार्यक्रम’मार्फत तालिम लिएर व्यवसाय सुरु गर्ने उद्यमीलाई दुई लाखदेखि १५ लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया