NIMB Header 2
Nepal Life

रास्वपाको केन्द्रीय सदस्यमा दामोदर गौतम उम्मेदवारी घोषणा

IME LIFE
  • BFIS News
  • 2026 Jun 19 17:15
रास्वपाको केन्द्रीय सदस्यमा दामोदर गौतम उम्मेदवारी घोषणा
United Ajod

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीका नेता दामोदर गौतमले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनले पार्टीलाई थप सशक्त, व्यवस्थित र सुशासनमुखी बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

Nepal Life
NIMB

गौतमले बीमा क्षेत्रमा आठ वर्ष र मार्केटिङ क्षेत्रमा करिब दुई दशकको अनुभव हासिल गरेका छन्। व्यावसायिक जीवनमा उनले राज्यलाई उल्लेखनीय कर योगदान गरेको उल्लेख गर्दै आफ्नो व्यवस्थापकीय तथा संगठनात्मक अनुभवलाई पार्टी निर्माणमा उपयोग गर्न चाहेको बताएका छन्।

बीमा क्षेत्रसँग आबद्ध गौतम पेशागत बीमा अभिकर्ता संघ नेपालका दुई कार्यकाल केन्द्रीय उपाध्यक्ष र एक कार्यकाल केन्द्रीय सदस्यको जिम्मेवारीमा रहिसकेका छन्। विभिन्न संस्थागत नेतृत्वको अनुभवले आफूलाई संगठन सञ्चालन, नीति निर्माण तथा व्यवस्थापनमा सक्षम बनाएको उनको भनाइ छ।

राजनीतिक रूपमा भने उनले २०६३ सालदेखि सक्रिय यात्रा सुरु गरेका हुन्। नेपाल विद्यार्थी संगठनको जिल्ला सदस्य तथा बानेश्वर क्याम्पसमा नेपाल विद्यार्थी संघमार्फत विद्यार्थी राजनीतिमा प्रवेश गरेका गौतम पछिल्ला वर्षहरूमा रास्वपाको संगठन विस्तारमा सक्रिय रहँदै आएका छन्।

रास्वपामा उनको योगदान विशेषगरी काभ्रेपलाञ्चोक जिल्लामा केन्द्रित रहेको छ। धुलिखेल नगर सचिवको जिम्मेवारी सम्हाल्ने क्रममा तीन जना व्यक्तिबाट सुरु भएको संगठनलाई हजारको हाराहारीमा सदस्यता विस्तार गर्न उनले भूमिका खेलेको दाबी गरेका छन्। साथै, नगरस्तरमा संगठन निर्माण, कार्यकर्ता परिचालन तथा पार्टी संरचना विस्तारमा सक्रिय भूमिका निर्वाह गरेको उनले बताएका छन्।

गौतमका अनुसार धुलिखेल नगरका १२ वटै वडामा संगठन विस्तार गर्दै पार्टीलाई बलियो बनाउने अभियानमा आफू सफल भएको र पछिल्लो संसदीय निर्वाचनमा नगरका सबै वडामा पार्टीको प्रभावशाली उपस्थितिका लागि समेत योगदान दिएको दाबी गरेका छन्। उनले काभ्रेपलाञ्चोक जिल्लामा रास्वपाको प्रारम्भिक चरणदेखि नै आफू र आफ्ना सहकर्मीहरू निरन्तर सक्रिय रहदै आएका छन्। 

केन्द्रीय सदस्य पदका लागि आफ्नो प्रमुख एजेण्डा पार्टीलाई बलियो, पारदर्शी र उत्तरदायी बनाउनु रहेको गौतमले बताएका छन्। पार्टीभित्र तथा राज्य संयन्त्रमा देखिएका बेथिति, विकृति र विसंगतिविरुद्ध निष्पक्ष तथा निर्भीक रूपमा आवाज उठाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन्। सुशासन, जवाफदेहिता र संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै पार्टीको राष्ट्रिय एजेण्डालाई प्रभावकारी ढंगले अगाडि बढाउने उनको योजना छ।

आफ्नो उम्मेदवारीप्रति समर्थन माग्दै गौतमले अनुभव, दक्षता र संगठन निर्माणमा गरेको योगदानलाई मतदाताले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरेका छन्। उनले पार्टीभित्र सुशासन कायम गर्न, परिवर्तनको अभियानलाई थप बलियो बनाउन तथा राष्ट्रिय राजनीतिमा सकारात्मक हस्तक्षेप गर्न आफ्नो उम्मेदवारी आवश्यक रहेको बताएका छन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनले १२९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। पार्टी विधानअनुसार केन्द्रीय समितिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिने व्यवस्था रहेको छ। महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै पार्टीको भावी राजनीतिक दिशा र संगठनात्मक संरचनाबारे महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया