NIMB Header 2
Nepal Life

देशभर १३ लाख ५१ हजार प्रतिष्ठानको तथ्यांक संकलन, आर्थिक गतिविधि विस्तार भएको संकेत

IME LIFE
  • BFIS News
  • 2026 Jun 23 11:21
देशभर १३ लाख ५१ हजार प्रतिष्ठानको तथ्यांक संकलन, आर्थिक गतिविधि विस्तार भएको संकेत
United Ajod

काठमाडौं । दोस्रो राष्ट्रिय आर्थिक गणनाअन्तर्गत देशभर सञ्चालन गरिएको स्थलगत तथ्यांक संकलनको कार्य सम्पन्न भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले असार ७ गतेसम्म १३ लाख ५१ हजार १६७ प्रतिष्ठानको विवरण संकलन गरिएको जनाएको छ।

Nepal Life
NIMB

कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेका अनुसार आर्थिक गणनाका क्रममा अनलाइन प्रणाली ‘इसेन्सस’ मार्फत ८ हजार ३८८ प्रतिष्ठानले टोकन प्राप्त गरेका थिए। तीमध्ये ६ हजार ६७० प्रतिष्ठानले पूर्ण विवरणसहितको फारम भरेका छन्।

कार्यालयले पूर्ण विवरण उपलब्ध नगराएका, आंशिक विवरण मात्र पेश गरेका, गणनामा छुटेका वा आफू छुटेको जानकारी गराएका प्रतिष्ठानलाई सम्बन्धित जिल्ला आर्थिक गणना कार्यालयमार्फत सहभागी हुने व्यवस्था मिलाइएको जनाएको छ। यसका लागि जिल्ला आर्थिक गणना कार्यालयहरू असार मसान्तसम्म सञ्चालनमा रहनेछन्।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अधिकांश प्रतिष्ठानको विवरण कागजी प्रश्नावलीमार्फत संकलन गरिएको छ। देशभर १३ लाख ४४ हजार ६६१ प्रतिष्ठानले कागजी प्रश्नावली भरेका छन्।

यसअघि २०७५ सालमा सम्पन्न पहिलो राष्ट्रिय आर्थिक गणनामा ९ लाख १७ हजार ४७० प्रतिष्ठानबाट कागजी प्रश्नावली संकलन गरिएको थियो भने ‘इसेन्सस’ प्रणालीमार्फत ५ हजार ८८६ प्रश्नावली भरिएका थिए। दुवै माध्यमबाट गरी कुल ९ लाख २३ हजार ३५६ प्रतिष्ठानको विवरण संकलन भएको थियो।

तुलनात्मक रूपमा हेर्दा दोस्रो आर्थिक गणनामा समेटिएका प्रतिष्ठानको संख्या पहिलो गणनाभन्दा करिब ४ लाख २८ हजारले बढी रहेको देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले यसलाई पछिल्ला वर्षहरूमा व्यवसायिक गतिविधि तथा आर्थिक क्षेत्रको विस्तारको संकेतका रूपमा लिएको छ।

दोस्रो राष्ट्रिय आर्थिक गणनाको स्थलगत कार्य वैशाख २ गतेदेखि देशभर एकसाथ सुरु गरिएको थियो। गणनाका लागि ३ हजार ९०७ गणक, ५२६ सुपरिवेक्षक, जिल्ला तहमा ५०४ व्यवस्थापन समूह तथा केन्द्रमा ५३ सदस्यीय कोर समूह परिचालन गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार संकलित तथ्यांकको प्रशोधन तथा विश्लेषणपछि आर्थिक संरचना, व्यवसायिक गतिविधि, रोजगारी तथा उद्यमको अवस्थाबारे विस्तृत प्रतिवेदन सार्वजनिक गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया