महिला लघुवित्तद्वारा विभिन्न पदमा कर्मचारी माग, आवेदन खुला
- BFIS News
- 2026 Jun 23 11:29
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न तहका पदमा कर्मचारी माग गरेको छ। संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरिएको हो।
संस्थाले वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, कनिष्ठ सहायक, सहयोगी चौथो तथा जुनियर सहायक (प्रशिक्षार्थी) पदका लागि कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको जनाएको छ। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
सूचनाअनुसार वरिष्ठ प्रबन्धक पदका लागि स्नातकोत्तर वा सो सरह शैक्षिक योग्यता हासिल गरी बैंक तथा वित्तीय संस्थामा अधिकृत स्तरमा कम्तीमा सात वर्ष र वरिष्ठ अधिकृत पदमा चार वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ। यसैगरी सहायक प्रबन्धक पदका लागि स्नातकोत्तर उत्तीर्ण गरी अधिकृत स्तरमा सात वर्ष तथा वरिष्ठ अधिकृत पदमा दुई वर्ष अनुभवसहित विभागीय प्रमुखको जिम्मेवारी सम्हालेको हुनुपर्ने व्यवस्था गरिएको छ।
कनिष्ठ सहायक पदका लागि एसएलसी उत्तीर्ण वा एसईईमा न्यूनतम १.६ जीपीए प्राप्त गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा एक वर्षको अनुभव आवश्यक रहेको छ। दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र भएका उम्मेदवारलाई प्राथमिकता दिइने संस्थाले जनाएको छ।
त्यसैगरी सहयोगी चौथो पदका लागि कम्तीमा कक्षा ८ उत्तीर्ण गरी दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र प्राप्त गरेको हुनुपर्नेछ। एसएलसी वा एसईई उत्तीर्ण उम्मेदवारलाई विशेष प्राथमिकता प्रदान गरिने उल्लेख छ।
जुनियर सहायक (प्रशिक्षार्थी) पदका लागि एसएलसी उत्तीर्ण वा एसईईमा कम्तीमा १.६ जीपीए प्राप्त गरेको हुनुपर्ने योग्यता तोकिएको छ।
संस्थाका अनुसार पदपूर्तिका लागि लिखित परीक्षा, अन्तर्वार्ता वा दुवै माध्यमबाट छनोट गरिनेछ। व्यवस्थापकीय तहका उम्मेदवारले भने लघुवित्त क्षेत्रको वर्तमान अवस्थासम्बन्धी SWOT Analysis समेत प्रस्तुत गर्नुपर्नेछ।
उमेर हदअनुसार व्यवस्थापकीय श्रेणीका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको तथा सहायक र सहयोगी श्रेणीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला उम्मेदवारको हकमा माथिल्लो उमेर सीमा पाँच वर्ष थप हुने व्यवस्था गरिएको छ।
छोटो सूचीमा परेका उम्मेदवारले व्यवस्थापकीय श्रेणीका लागि १ हजार ५०० रुपैयाँ, सहायक श्रेणीका लागि ७०० रुपैयाँ र सहयोगी श्रेणीका लागि ५०० रुपैयाँ परीक्षा शुल्क बुझाउनुपर्नेछ।
संस्थाले छनोट भएका उम्मेदवारलाई परीक्षणकाल तथा प्रशिक्षण अवधिपछि मात्र स्थायी नियुक्ति प्रदान गरिने जनाएको छ। विस्तृत जानकारी तथा आवेदनका लागि संस्थाको वेबसाइट www.mlbsl.com.np मा उपलब्ध रहेको सूचनामा उल्लेख छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)
















प्रतिक्रिया