NIMB Header 2
Nepal Life

बिजनेस न्युजमा प्रकाशित समाचार हटाउन अदालतको अन्तरिम आदेशप्रति पत्रकार महासंघको ध्यानाकर्षण

IME LIFE
  • BFIS News
  • 2026 Jun 23 20:47
बिजनेस न्युजमा प्रकाशित समाचार हटाउन अदालतको अन्तरिम आदेशप्रति पत्रकार महासंघको ध्यानाकर्षण
United Ajod

काठमाडौं, असार ९ । नेपाल पत्रकार महासंघले विद्युतीय सवारीसाधन ब्रान्ड बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साईमेक्स इन्क प्रालिसम्बन्धी समाचार हटाउन जिल्ला अदालत काठमाडौंले दिएको अन्तरिम आदेशप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

Nepal Life
NIMB

महासंघले सोमबार जारी गरेको विज्ञप्तिअनुसार अदालतले जेठ २५ गते जारी गरेको अन्तरकालीन आदेशलाई निरन्तरता दिँदै निवेदनको अन्तिम टुंगो नलागेसम्म बिजनेस भेन्चर मिडिया प्रालिद्वारा सञ्चालित बिनेस न्युज अनलाइनमा उक्त विषयसँग सम्बन्धित समाचार सामग्री प्रकाशन तथा प्रसारण नगर्न, भइसकेका सामग्री थप सम्प्रेषण हुन नदिन र सबै अनलाइन माध्यमबाट तत्काल हटाउन आदेश दिएको छ।

महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघले उक्त आदेशबारे जानकारी गराएको उल्लेख गर्दै महासंघले यो निर्णय पत्रकार आचारसंहिता, २०७३ को दफा ५ (८) मा रहेको अनलाइन सञ्चारमाध्यमबाट प्रकाशित वा प्रसारित समाचार सामग्री हटाउन नहुने व्यवस्थासँग मेल नखाने जनाएको छ।

महासंघले समाचारको सत्यता परीक्षण गर्ने अधिकार कानुनद्वारा स्थापित प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारभित्र पर्ने उल्लेख गर्दै अदालतको आदेश त्यससँग पनि तादाम्यता नरहेको आफ्नो बुझाइ रहेको जनाएको छ।

विज्ञप्तिमा समाचारमा समावेश तथ्य सही वा गलत भन्ने विषयमा निष्कर्षमा नपुगी समाचार हटाउन आदेश दिइएको भन्दै यसले स्वतन्त्र पत्रकारिताको मूल मर्ममाथि असर पार्नुका साथै प्रमाण नष्ट हुनसक्ने जोखिम समेत सिर्जना गरेको उल्लेख गरिएको छ।

महासंघले विगतमा अनलाइन सञ्चारमाध्यममा प्रकाशित सामग्री हटाउन जारी भएका केही अन्तरिम आदेश अन्ततः खारेज भएका नजिरहरू रहेको स्मरण गराउँदै सम्मानित अदालतले उक्त आदेशमा पुनर्विचार गरी प्रेस स्वतन्त्रताको संरक्षण गर्ने विश्वास व्यक्त गरेको छ।

साथै महासंघले अदालतप्रतिको सम्मान कायम राख्दै अन्तिम फैसला स्वीकार गर्न तथा संविधान, प्रचलित कानुन र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सबै सञ्चारमाध्यमलाई आग्रह गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया