मर्मत सम्पन्नपछि रसुवागढी जलविद्युत् आयोजनाबाट पुनः १११ मेगावाट विद्युत् उत्पादन सुरु
- BFIS News
- 2026 Jun 30 11:30
काठमाडौं । रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–टिमुरेमा अवस्थित १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले मर्मत तथा पुनःनिर्माण कार्य सम्पन्न गरेपछि असार १५ गतेदेखि पुनः विद्युत् उत्पादन सुरु गरेको छ।
आगामी वर्षायाममा निर्बाध रूपमा पूर्ण क्षमतामा विद्युत् उत्पादन सुनिश्चित गर्ने उद्देश्यले आयोजना जेठ २६ गतेदेखि असार २४ गतेसम्म निर्धारित रूपमा बन्द गरिएको थियो। सो अवधिमा आयोजनाको प्लान्ट पुनःस्थापना तथा आवश्यक निर्माण र मर्मतसम्भारका काम सम्पन्न गरिएको कम्पनीले जनाएको छ।
गत वर्ष असार २४ गते आएको भीषण हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल फ्लड) का कारण आयोजनाका विभिन्न संरचना तथा विद्युतीय एवं यान्त्रिक (इलेक्ट्रो–मेकानिकल) उपकरणमा ठूलो क्षति पुगेपछि ती संरचनाको पुनःस्थापना र मर्मत आवश्यक भएको थियो।
कम्पनीका अनुसार हाल आयोजनाका तीनवटै उत्पादन युनिट सञ्चालनमा आइसकेका छन्। सम्पन्न पुनःस्थापना तथा मर्मत कार्यसँगै अब आगामी वर्षायामभर आयोजना पूर्ण १११ मेगावाट क्षमतामा निरन्तर विद्युत् उत्पादन गर्न सक्षम हुने विश्वास गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया