जीवन बीमा जोखिम व्यवस्थापनको प्रमुख आधार, एउटा व्यक्तिलाई वार्षिक कमाइको ५ देखि १५ गुणासम्म बीमा आवस्यक
- प्रभात कुईकेल
- 2023 Oct Thu 06:12
काठमाडौं । बीमा आर्थिक जोखिम विरुद्ध बीमित (बीमा गर्नेव्यति) र बीमक (बीमा गरिदिने कम्पनी) बीच हुने करार सम्झौता हो । जोखिम अनिश्चित हुन्छ, आर्थिक नोक्सानी हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टी बीमा हो । बीमा जोखिम हस्तान्तरणको माध्यम हो । नेपालमा अहिले पनि धेरै नागरिक बीमाको दायरमा आउन सकेका छैनन् । बीमा समितिको तथ्याङ्क अनुसार कुल जनसंख्याको २६ प्रतिशत नागरिक मात्र बीमाको दायरमा आएका छन् । जुन तथ्याङ्क संख्यात्मक आँकडा मात्र हो, गुणात्मक हैन । एउटै व्यक्तिको दुई वा सोभन्दा बढी बीमा लेख हुन गरेको पाइन्छ । नेपालमा बीमासम्बन्धी सकारात्मक धारणा निकै कम रहेको पाइन्छ ।
नेपालमा कुल जनसंख्याको ६० प्रतिशत जनसंख्या बीमाको दायरामा आउन नसक्नु, बीमित भएकाहरु पनि अण्डर भ्यालु इन्स्योरेन्स हुने गरेको बीमा कम्पनीहरुले बताएका छन् । वास्तविक मूल्य इन्स्योरेन्स ३० प्रतिशत भन्दा काम रहेको छ । यस्तो तथ्याङ्कको हिसाब गर्ने हो भने ७० प्रतिशत जनसंख्या वास्तविक जीवन बीमा भन्दा बाहिर छन् । व्यक्तिले आर्थिक क्षमता र जोखिम व्यवस्थापनका दृष्टिले गरिने जीवन बीमाको आँकडा एकदम न्यून छ ।
बीमाले व्यक्तिको मृत्युपछि पनि उसको परिवारको आर्थिक अवस्था कमजोर नहोस् भनि क्षमता अनुसारको जोखिम व्यवस्थापन गर्नु आवश्यक छ । बीमा कम्पनीहरुले व्यक्तिको मृत्युमा व्यक्ति नै होइन । तर, उसको अभावमा पनि स्वयम् व्यक्ति भए झैँ आर्थिक अवस्था उहि ढङ्गले चलाउनको लागि गरिने बीमा क्षमता अनुसारको बीमा हो । जसका लागि मानवीय आर्थिक मूल्यको आधारमा वास्तविक मूल्यको बीमा गर्न जरुरी हुन्छ । व्यक्तिको वास्तविक मूल्य बीमा भनेको व्यक्तिको वार्षिक कमाइको पाँचदेखि १५ गुणा बीमा गर्नाले वास्तविक आर्थिक जोखिम व्यवस्थापन हुन्छ ।
जीवन बीमासम्बन्धी गलत धारणाहरु:
नेपालमा १४ वटा जीवन बीमा कम्पनीहरु छन् । जसले नेपालको बीमा बजारलाई दिन प्रतिदिन फराकिलो बनाउँदै लगेको छ । तर जनमासमा अझै जीवन बीमा सम्बन्धी गलत धारणा व्याप्त छ । मरी सकेपछि बीमाको के काम ? मरेपछि डुमै राजा, बीमा डबल हुन्छ आदि ।
जीवन बीमा जीवनको जोखिम व्यवस्थापन हो । जीवन बीमा रहँदाका लागि, जीवन नरहँदा परिवारका लागि तथा जीवन थलो पर्दा (पूर्णरुपमा अङ्गभङ्ग) स्वयमका लागि हो भनेर बुझ्न जरुरी छ । समाजमा रहेका बीमासम्बन्धी गलत धारणा बीमाको बजार वृद्धिसँगै घट्ने क्रममा छन् । वि.सं. २०७२ सालको विनासकारी महाभुकम्प, विभिन्न प्राकृतिक प्रकोप, महामारी लगायतका कारण मानिस मरिन्छ कि भन्ने डरका कारण झन् बीमा बजार तथा बीमा चेतना वृद्धि हुँदै गएको छ । जुन बीमित हुने र बीमा बजारको लगि सकारात्मक पक्ष हो ।
जीवन बीमा गर्दा के-के कुरामा ध्यान दिनुपर्छ ?
जीवनको आर्थिक व्यवस्थापनका लागि जीवन बीमा आवश्यक छ । जीवन बीमा गर्दा बिमितले म कस्तो कम्पनीमा जीवन बीमा गर्दैछु, कम्पनीका लगानी कर्ताहरु कस्ता छन्, कम्पनीको आर्थिक व्यवस्थापन कस्तो छ, कम्पनीले के कस्तो बोनस दिन्छ, कस्तो पोलिसी लिँदैछ? (बचत/जोखिम व्यवस्थापन पोलिसी) विभिन्न कम्पनीमा विभिन्न प्रकारका प्रोडक्टहरु हुन्छन्, जुन एक-आपसमा तुलना गरी आफ्नो आर्थिक क्षमता अनुरुपको पोलिसी छनौट गर्नु पर्दछ । जीवन बीमा गर्दा सर्वप्रथम घरको मूली मान्छे (परिवार धान्न मुख्य आम्दानी गर्ने)को पहिलो प्राथमिकतामा र अन्य सदस्यहरुको त्यसपछि बीमा गर्दै जानु पर्दछ । घरको मूली भन्नुको अर्थ घर जसको कमाइले चलिरहेको छ, उसको अभावमा पक्कै पनि घर चौपट हुन सक्दछ, त्यसैले उसको सर्वप्रथम बीमा गर्नु पर्दछ ।
जुन आर्थिक जोखिम बहन हुने किसिमको बीमा गर्नु आवश्यक हुन्छ । जस्तो रमण भन्ने व्यक्तिको वार्षिक कमाई दश लाख छ भने उसको जोखिम व्यवस्थापनको दृष्टिले कमाइको दश गुणा बीमा गर्नु वास्तविक बीमा हो । उसँगको अभावमा पनि आर्थिक कारणले परिवारमा क्षति पुग्दैन यदि वास्तविक मूल्यको बीमा छ भने व्यक्तिको अभावमा पनि आर्थिक कारणले धक्का महशुस गर्नु पर्दैन । तर बीमा अभिकर्ताका गलत बुझाइका कारण वास्तविक मूल्य अनुरुपका जीवन बीमा नेपालमा न्यून रहेका छन् ।
जीवन बीमाको आवश्यक्ता र महत्व:
बीमा भविष्यको वित्तीय व्यवस्थापनको योजना हो । बीमा सर्वोत्तम बचत, जोखिम व्यवस्थापन, जीवनको आर्थिक व्यवस्थापन र जीवन सुरक्षणको साथी हो । मानवीय जीवनमा जीवन बीमा यस कारण जरुरी छ कि यसले वित्तीय योजना निर्माण गर्न लगाई भावी सन्तती र परिवारको सुरक्षित भविष्यको लागि र राष्ट्र निर्माणको लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
आर्थिक जोखिम हस्तान्तरण:
हरेक व्यक्तिको आर्थिक मूल्य हुन्छ । जुन व्यक्तिको आम्दानीले परिवारको पालनपोषण, शिक्षादिक्षा, विवाह, सामाजिक क्रियाकलाप सञ्चालन हुन्छ, आफु नरहँदा परिवारमा मानसिक संकटको साथै आर्थिक संकटको पनि सामना गर्नुपर्ने हुन्छ । यसर्थ, जीवन बीमा आर्थिक संकटन व्यवस्थापन गर्ने एक पद्धती हो ।
भविष्यको लागि सर्वोत्तम बचत:
बीमामा गरिएको लगानीले व्यक्तिलाई अनिवार्य बचत गर्न प्रोत्साहन गर्दछ । यसरी थोरै थोरै गरिएको बचतल भविष्यमा एकमुष्ट आर्थिक मौज्दात हुने हुँदा सहज रुपमा आर्थिक पक्ष मजबुद बनाउन सकिन्छ ।
योजना निर्माणमा सहजता:
भविष्यको बारेमा हामी ससबैलाई चिन्ता हुने गर्दछ । सबैको मनोकांक्षा उच्च आर्थिक स्तरका साथ गुणस्तरीय जीवन निर्वाह गर्ने रहेको हुन्छ । जीवन बीमामा गरिएको बचत र लगानीले परिवारको आर्थिक सुरक्षण, व्यवस्थापन तथा छोरा छोरीको उच्च शिक्षा र बुढेसकालको साहराको लागि सहजता प्रदान गर्दछ ।
राष्ट्र निर्माणमा सहयोगी:
जीवन बीमा व्यक्तिको आर्थिक सुरक्षा, राष्ट्रको लागि बीमामार्फत उठेको पूजिँ विभिन्न माध्यमबाट प्रत्यक्षा अप्रत्यक्ष रुपमा लगानी हुने गरेको पाईन्छ । यसरी सरकारको साझेदारीको रुपमा लगानीकर्ताको भूमिका निर्वाह गर्दछ भने सरकारले लागू गरेको कर प्रणाली अनुसार करको दायरमा आएउँदा राष्ट्र निर्माणमा उल्लेखनीय योगदान पुग्दछ ।
बीमितको कर छूट:
जीवन बीमा गर्दा लाग्ने वार्षिक प्रिमियममा ४० हजारसम्मको बीमा शुल्कमा कर छुट पाउने व्यवस्था रहेको छ । यसले बीमितलाई करछुट हुन्छ भने अर्को तर्फ अनिवार्य बचत हुने भएकोले बीमितले दोहोरो लाभ लिन सक्दछ ।
आम्दानीमा वृद्धि:
बीमा गरिसकेपछि भविष्यमा आइपर्ने आर्थिक जोखिम तथा मानसिक तनावबाट व्यक्तिलाई केहि हदसम्म मुक्त दिलउँछ । जीवनमा आइपर्ने आर्थिक संकट, वित्तीय संकट, प्राकृतिक प्रकोप, महामारी, दुर्घटना जस्ता विपद्हरुबाट आइपर्ने मृत्य तथा मृत्युतुल्य कष्टमा पनि बीमितलाई आर्थिक सहायता प्रदान हुन्छ । बीमित आफैँ मानसिक रुपले पनि सकारात्मक हुने हुँदा उसको आयु थप लम्ब्याउन सहयोग गर्दछ ।
अत: भोलीका लागि आजै बीमा गर्नु आवश्यक छ । भोली, पर्सी भन्दा पनि आजै घरमा बढि आर्थिक जोखिम बहन गर्ने (घरपरिवार चलाउन अर्थोपार्जन गर्ने) व्यक्तिको आर्थिक मानवीय मूल्य र क्षमता अनुसार बीमा गर्नु जरुरी छ । जसले सुरक्षित भविष्यको लागि टेवा पुर्याउँछ ।
प्रतिक्रिया