देशभर मनसुन सक्रिय, आज पनि भारी वर्षाको सम्भावना
- आयुस बस्नेत
- 2026 Jul 12 16:52
काठमाडौं, असार २८ देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत स्थानभन्दा केही माथि तथा पूर्वतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, मधेस प्रदेशका अधिकांश स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ।
महाशाखाले मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।
आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि आंशिक बदली रहने पूर्वानुमान छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराईका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा मधेससहित ती प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)


















प्रतिक्रिया