दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे र प्रेस काउन्सिलमा उमेश श्रेष्ठ नियुक्त
- BFIS News
- 2026 Jul 13 17:46
काठमाडौँ, २९ असार । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार उनीहरूलाई उक्त जिम्मेवारी दिइएको हो।
दुवै नवनियुक्त अध्यक्षले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन्। दूरसञ्चार प्राधिकरणका अध्यक्ष घिमिरेले सोही दिन पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।
नियुक्तिपत्र वितरणका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएका दुवै अध्यक्षबाट परिणाममुखी कार्यसम्पादनको अपेक्षा रहेको बताएका छन्। सिफारिस समितिले निष्पक्ष, न्यायपूर्ण र जिम्मेवार ढंगले काम गर्न सक्ने आधारमा उनीहरूलाई छनोट गरेको उल्लेख गर्दै नियामक निकायहरूले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
उनले सञ्चार क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र प्रभावकारी बनाउन प्रेस काउन्सिलको भूमिका महत्वपूर्ण रहने बताएका छन्। साथै, गलत सूचना (मिसइन्फरमेसन) र दुष्प्रचार (डिसइन्फरमेसन) वर्तमान सञ्चार क्षेत्रका प्रमुख चुनौती भएकाले त्यसको पहिचान र समाधानमा सक्रिय हुनुपर्ने आवश्यकता औँल्याएका छन्।
सञ्चारमन्त्री तिमिल्सिनाले मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको मस्यौदामाथि छलफल अघि बढिसकेको जानकारी दिँदै पुराना कानुनलाई समयानुकूल परिमार्जन गरिने बताएका छन्। प्रेस काउन्सिललाई थप सक्षम, जिम्मेवार र प्रभावकारी संस्थाका रूपमा विकास गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याएका छन्।
दूरसञ्चार क्षेत्रका समस्या समाधान, सेवाको गुणस्तर सुधार तथा कानुनी जिम्मेवारीअनुसार निष्पक्ष रूपमा काम गर्नुपर्नेमा जोड दिँदै उनले नागरिकको हितलाई केन्द्रमा राखेर अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन कार्ययोजना तयार गरी अघि बढ्न सुझाव दिएका छन्। मन्त्रालयले दुवै संस्थालाई आवश्यक नीतिगत तथा संस्थागत सहयोग उपलब्ध गराउने पनि उनले बताएका छन्।
प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सञ्चार माध्यमको स्वरूप परिवर्तन भए पनि प्रेस काउन्सिलसम्बन्धी कानुन पुरानो भइसकेकाले त्यसलाई समयानुकूल संशोधन गर्नुपर्ने बताएका छन्। पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन, स्वनियमन प्रणालीलाई सुदृढ बनाउने, प्रेस स्वतन्त्रताको संरक्षण र जिम्मेवार पत्रकारिताको प्रवर्द्धन आफ्नो प्राथमिकतामा रहने उनले बताएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार क्षेत्रका विद्यमान समस्या समाधान, सेवा विस्तार, सुशासन प्रवर्द्धन तथा कानुन, नियम र नीतिअनुसार नागरिकमुखी र उत्तरदायी दूरसञ्चार प्रणाली निर्माणमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)













.jpg)




प्रतिक्रिया