राजस्व संकलन लक्ष्यको ८३.८७ प्रतिशत मात्रै पुरा, सरकारी खर्च ८०.५५ प्रतिशतमा सिमित
- BFIS News
- 2026 Jul 17 07:00
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम दिनसम्मको सरकारी आय–व्ययको विवरण सार्वजनिक भएको छ। अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय नियन्त्रक महालेखा कार्यालय (FCGO) का अनुसार असार ३२ गते (सन् २०२६ जुलाई १६) सम्म सरकारले राजस्व संकलन लक्ष्यको ८३.८७ प्रतिशत हासिल गरेको छ भने कुल सरकारी खर्च ८०.५५ प्रतिशत मात्रै भएको देखिएको छ।
सार्वजनिक दैनिक प्राप्ति तथा भुक्तानी विवरणअनुसार सरकारले १ खर्ब ४८ अर्ब रुपैयाँ (१४,८००,००० लाख रुपैयाँ) राजस्व उठाउने लक्ष्य राखेकोमा आर्थिक वर्षको अन्तिम दिनसम्म १ खर्ब २४ अर्ब १३ करोड १८ लाख रुपैयाँ (१२,४१३,१८५ लाख रुपैयाँ) संकलन गरेको छ।
राजस्वतर्फ कर राजस्व संकलन ८४.५७ प्रतिशत पुगेको छ। कर राजस्व लक्ष्य १ खर्ब ३२ अर्ब ५५ करोड ८३ लाख रुपैयाँमध्ये १ खर्ब १२ अर्ब १० करोड ८२ लाख रुपैयाँ संकलन भएको छ। यस्तै गैरकर राजस्व ७७.८७ प्रतिशत अर्थात् १२ अर्ब २ करोड ३६ लाख रुपैयाँ पुगेको छ।
अनुदान प्राप्ति भने अपेक्षाभन्दा कमजोर देखिएको छ। ५ अर्ब ३४ करोड ४६ लाख रुपैयाँको लक्ष्य रहेकामा ३ अर्ब १२ करोड ६४ लाख रुपैयाँ मात्रै प्राप्त भएको छ, जुन लक्ष्यको ५८.५ प्रतिशत हो।
राजस्व, अनुदान र अन्य प्राप्तिसहित सरकारको कुल प्राप्ति १ खर्ब २८ अर्ब ६ करोड ५३ लाख रुपैयाँ पुगेको छ, जुन कुल लक्ष्यको ८३.५१ प्रतिशत बराबर हो।
उता सरकारी खर्चतर्फ कोषबाट हुने कुल खर्च १ खर्ब ९६ अर्ब ४१ करोड १० लाख रुपैयाँको लक्ष्य रहेकामा १ खर्ब ५८ अर्ब २१ करोड ६८ लाख रुपैयाँ खर्च भएको छ। यो कुल विनियोजनको ८०.५५ प्रतिशत हो।
खर्चको संरचनामा चालु खर्च ८८.४० प्रतिशत पुगेको छ। चालु खर्चतर्फ १ खर्ब १८ अर्ब ९ करोड ८० लाख रुपैयाँको लक्ष्य रहेकामा १ खर्ब ४ अर्ब ३९ करोड ९६ लाख रुपैयाँ खर्च भएको छ।
तर, विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धित पुँजीगत खर्च भने उल्लेखनीय रूपमा कमजोर रह्यो। ४० अर्ब ७८ करोड ८८ लाख रुपैयाँको लक्ष्यमध्ये १९ अर्ब ८ करोड ४१ लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन लक्ष्यको ४६.७९ प्रतिशत हो।
वित्तीय व्यवस्थापनतर्फ भने ९२.५६ प्रतिशत प्रगति देखिएको छ। यस शीर्षकमा ३७ अर्ब ५२ करोड ४२ लाख रुपैयाँको लक्ष्य रहेकामा ३४ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।
वित्तीय नियन्त्रक महालेखा कार्यालयले सार्वजनिक गरेको विवरण प्रारम्भिक रहेको उल्लेख गर्दै समायोजन (Reconciliation) पछि तथ्यांकमा सामान्य परिवर्तन हुन सक्ने जनाएको छ। साथै प्रत्यक्ष भुक्तानीतर्फका केही खर्चहरू आंशिक रूपमा मात्र समावेश भएकाले अन्तिम विवरण फरक पर्न सक्ने जनाइएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)












.jpg)





प्रतिक्रिया