आईपीओ तयारीमा रहेको नर्भिक अस्पतालको ९ महिनामै २ अर्बभन्दा बढी आम्दानी
- BFIS News
- 2026 Jul 28 14:03
काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेजले गत आर्थिक वर्षको पहिलो नौ महिनामा २ अर्ब ४ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ।
अस्पतालका अनुसार ओपीडी र आईपीडी सेवामा बिरामीको संख्या बढ्नु तथा सञ्चालन क्षमता विस्तार हुँदै जाँदा आम्दानीमा उल्लेखनीय वृद्धि भएको हो। वार्षिक कारोबार पनि निरन्तर बढ्दो क्रममा रहेको छ। सन् २०२३ मा १ अर्ब ९४ करोड रुपैयाँ रहेको कारोबार सन् २०२४ मा २ अर्ब ३ करोड ३० लाख रुपैयाँ पुगेको थियो भने सन् २०२५ मा बढेर २ अर्ब २६ करोड ३० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ११ प्रतिशत बढी हो।
स्वास्थ्य सेवा लिन आउने बिरामीको संख्या पनि निरन्तर बढेको अस्पतालले जनाएको छ। सन् २०२१ मा ओपीडी सेवा लिने बिरामी ९४ हजार २३० जना रहेकामा सन् २०२५ सम्म आइपुग्दा यो संख्या १ लाख ६० हजार ३५१ पुगेको छ। सो अवधिमा वार्षिक औसत १४ प्रतिशतका दरले बिरामी संख्या वृद्धि भएको अस्पतालको दाबी छ। सन् २०२५ मा ८ हजार ५०० जनाले आईपीडी सेवा लिएका थिए।
गत आर्थिक वर्षको पहिलो नौ महिनामा मात्रै ओपीडी सेवा लिने बिरामीको संख्या ८.९ प्रतिशतले बढेर १ लाख २७ हजार ४७३ पुगेको छ भने आईपीडी सेवा उपयोग गर्नेको संख्या ४.६ प्रतिशतले वृद्धि भएर ६ हजार ५९४ पुगेको छ।
अस्पतालको सञ्चालन कार्यसम्पादनमा पनि सुधार देखिएको छ। सन् २०२२ मा १९ प्रतिशत रहेको सञ्चालन मार्जिन सन् २०२५ मा बढेर २७ प्रतिशत पुगेको छ। सञ्चालन नाफा बढेसँगै आन्तरिक नगद आर्जन पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ। सन् २०२२ मा २३ करोड ७० लाख रुपैयाँ रहेको नगद आर्जन सन् २०२५ मा ४१ करोड ९० लाख रुपैयाँ पुगेको थियो भने पछिल्लो नौ महिनामा नगद सञ्चिति बढेर ४७ करोड १० लाख रुपैयाँ पुगेको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार क्षमता विस्तारका लागि थप ऋण लिइए पनि नाफा सञ्चिति, नयाँ इक्विटी लगानी तथा तुलनात्मक रूपमा कम ब्याजदरका कारण पूँजी संरचना अझ सुदृढ बनेको छ। सन् २०२५ मा १९ करोड ४४ लाख रुपैयाँ बराबरको नयाँ इक्विटी थपिएको थियो।
ऋण व्यवस्थापनतर्फ पनि सुधार देखिएको अस्पतालको दाबी छ। सन् २०२५ मा १.२५ गुणा रहेको समग्र गियरिङ अनुपात घटेर गत आर्थिक वर्षको पहिलो नौ महिनामा १.१७ गुणामा झरेको छ। यही अवधिमा १३ करोड १० लाख रुपैयाँ बराबरको ऋण निर्धारित समयअघि नै भुक्तानी गरिएको छ। ब्याज तिर्ने क्षमता पनि बढ्दै गएको छ। सन् २०२४ मा ५.३९ गुणा रहेको ब्याज कभरेज अनुपात सन् २०२५ मा बढेर १०.९० गुणा पुगेको अस्पतालले जनाएको छ।
अस्पतालले हाल सञ्चालनमा रहेको ११६ शय्यालाई विस्तार गरी २७५ शय्या पुर्याउने परियोजना अघि बढाइरहेको छ। सुरुमा ३ अर्ब १२ करोड २० लाख रुपैयाँ अनुमान गरिएको परियोजनाको लागत संशोधनपछि ३ अर्ब ३२ करोड २० लाख रुपैयाँ पुगेको छ। हालसम्म प्रतिबद्ध लगानीको करिब ५८ प्रतिशत खर्च भइसकेको र निर्माण कार्य अन्तिम चरणमा रहेको अस्पतालले जनाएको छ। विस्तारित सेवासहित सन् २०२७ देखि व्यावसायिक सञ्चालन सुरु गर्ने लक्ष्य राखिएको छ। परियोजनाका लागि १ अर्ब ८७ करोड रुपैयाँ कर्जा सुनिश्चित भइसकेको छ।
सन् १९९३ मा स्थापना भएको नर्भिक अस्पताल सन् २०२१ देखि पब्लिक कम्पनीका रूपमा सञ्चालनमा छ। हाल चौधरी समूहअन्तर्गत सञ्चालित अस्पतालमा बीएलसी होल्डिङ प्रालिको ३४ प्रतिशत र अध्यक्ष वसन्तकुमार चौधरी रहेको बीएलसी ग्लोबल होल्डिङको ४९ प्रतिशत स्वामित्व रहेको छ। अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंह हुन्।
अस्पतालले दीर्घकालीन र अल्पकालीन गरी कुल २ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ बराबरको कर्जाका लागि रेटिङ गराएको जनाएको छ। यसमध्ये २ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ दीर्घकालीन र ५ करोड ८ लाख रुपैयाँ अल्पकालीन कर्जासँग सम्बन्धित रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया