Nepal Life

इरानसँग कूटनीतिक समाधानको सम्भावना देखिएको ट्रम्पको दाबी, तेस्रो दिन पनि युद्धविराम कायम

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 28 15:02
इरानसँग कूटनीतिक समाधानको सम्भावना देखिएको ट्रम्पको दाबी, तेस्रो दिन पनि युद्धविराम कायम

काठमाडौं । अमेरिका र इरानबीच जारी तनावका बीच लागू गरिएको युद्धविराम लगातार तेस्रो दिनसम्म कायम रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिक वार्तामार्फत शान्ति सम्झौता सम्भव रहेको बताएका छन्।

Nepal Life
NIMB

यद्यपि, इरानले अमेरिका र आफ्नो देशबीच कुनै प्रत्यक्ष वार्ता भइरहेको दाबीलाई अस्वीकार गरेको छ।

एयर फोर्स वनमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँग समझदारीको सम्भावना सकारात्मक रहेको उल्लेख गर्दै आवश्यक धैर्य अपनाइरहेको बताए। उनले कूटनीतिक प्रयास सफल नभए अमेरिका आवश्यक परे पुनः सैन्य विकल्प प्रयोग गर्न सक्ने चेतावनीसमेत दिए।

इरानमाथि अमेरिकी आक्रमण भएको १३ दिनपछि तथा हर्मुज जलडमरूमध्यमा उत्पन्न तनावको पृष्ठभूमिमा गत शुक्रबारदेखि युद्धविराम लागू गरिएको थियो।

यद्यपि, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले अमेरिका र इरानबीच प्रत्यक्ष संवाद भइरहेको दाबी अस्वीकार गरेका छन्। उनका अनुसार मध्यस्थकर्तामार्फत अमेरिकी सन्देश प्राप्त हुन सक्ने भए पनि हाल कुनै प्रत्यक्ष वार्ता भइरहेको छैन। यसअघि ट्रम्पले मिचिगनमा आयोजित एक कार्यक्रममा इरानले सम्झौताका लागि अमेरिकासँग संवाद गर्न चाहेको दाबी गरेका थिए।

ट्रम्पले युद्धका कारण अमेरिकी सैन्य भण्डार कमजोर भएको भन्ने टिप्पणी पनि अस्वीकार गर्दै अमेरिकासँग पर्याप्त मात्रामा गोलाबारुद र अन्य सैन्य सामग्री मौज्दात रहेको बताएका छन्।

यसबीच, साउदी अरेबियाको रक्षा मन्त्रालयले इराकस्थित तेल पूर्वाधारलाई लक्षित गरी इरानसँग आबद्ध समूहबाट प्रहार गरिएका केही ड्रोन अवरोध गरिएको जनाएको छ। घटनाको जिम्मेवारी कुनै समूहले नलिए पनि साउदी अरेबियाले इराक सरकारलाई आफ्नो भूमिबाट यस्ता आक्रमण हुन नदिन आग्रह गरेको छ। इराकका प्रधानमन्त्री अली अल–जैदीले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन्।

पाकिस्तानले पनि उक्त ड्रोन आक्रमणको निन्दा गर्दै यसले मध्यपूर्वको शान्ति र स्थायित्वमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ। यता, यमनका इरान समर्थित हुथी विद्रोहीले साउदीको तेल पूर्वाधारमाथि ड्रोन आक्रमण गरेको दाबी गरेका छन् भने साउदी अरेबियाले यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।

उता, इजरायली सेनाले जोर्डन सीमाक्षेत्र नजिक दुईवटा ड्रोन खसालिएको जनाएको छ। ती ड्रोन कहाँबाट प्रक्षेपण गरिएका थिए भन्ने विषयमा अनुसन्धान जारी रहेको बताइएको छ।

युद्धविराम कायम रहेसँगै अन्तर्राष्ट्रिय वित्तीय बजारमा सकारात्मक प्रभाव देखिएको छ। सोमबार विश्व शेयर बजारमा सुधार देखिएको छ भने अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब ६ प्रतिशतले घटेर प्रतिब्यारेल ८६ अमेरिकी डलरमा झरेको छ। विश्लेषकहरूले यसलाई खाडी क्षेत्रको ऊर्जा आपूर्ति तथा समुद्री ढुवानीमा तत्कालका लागि राहतको संकेतका रूपमा हेरेका छन्।

यद्यपि, हर्मुज जलडमरूमध्यको नियन्त्रणको विषय भने अझै पनि शान्ति प्रक्रियाको प्रमुख विवादका रूपमा कायम छ। इरानले उक्त सामुद्रिक मार्गको व्यवस्थापन आफ्नो अधिकारक्षेत्रभित्र पर्ने अडान दोहोर्‍याएको छ। साथै, इस्लामिक रिभोलुसनरी गार्ड्सले निर्धारित समुद्री मार्ग उल्लङ्घन गरेको आरोपमा केही जहाज नियन्त्रणमा लिएको जनाएको छ।

इरानले ओमानसँग समुद्री मार्गको सुरक्षा सम्बन्धी छलफल भएको जानकारी दिएको छ। तर, प्रवक्ता बाकाईले उक्त प्रक्रियामा अमेरिका संलग्न नरहेको स्पष्ट पार्दै वासिङ्टनको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया