Nepal Life

सहमति कार्यान्वयनको माग गर्दै लघुवित्त पीडित माइतीघरमा आमरण अनसनमा

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 28 15:07
सहमति कार्यान्वयनको माग गर्दै लघुवित्त पीडित माइतीघरमा आमरण अनसनमा

काठमाडौं । विगतमा सरकारसँग भएका सहमति र सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न माग गर्दै लघुवित्त तथा वित्तीय संस्था पीडितहरूले काठमाडौंको माइतीघरमा मंगलबारदेखि सामूहिक आमरण अनसन सुरु गरेका छन्।

Nepal Life
NIMB

आन्दोलनरत पक्षले आफ्ना मागको सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ।

अनसनमा बसेका पीडितहरूले लघुवित्त, बैंक तथा अन्य वित्तीय संस्थाबाट ऋणीमाथि भइरहेको वित्तीय शोषण अन्त्य गर्न, चर्को तथा चक्रवृद्धि ब्याज खारेज गर्न तथा विभिन्न शीर्षकमा असुल गरिने हर्जाना र अतिरिक्त शुल्क हटाउन माग गरेका छन्।

लघुवित्त पीडितका प्रतिनिधि मणिराम ज्ञवालीले नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत लघुवित्त संस्थाहरूले सर्वसाधारणमाथि अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाए। उनका अनुसार यसअघि सरकारसँग भएको वार्तापछि तयार पारिएको प्रतिवेदन अझै कार्यान्वयनमा आएको छैन।

ज्ञवालीले उक्त प्रतिवेदन कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको र अदालतले सरकारलाई प्रतिवेदन कार्यान्वयन गर्न आदेश दिए पनि त्यसको पालना नभएको बताए। यही कारण आन्दोलनलाई थप कडा बनाउँदै आमरण अनसनमा बस्न बाध्य भएको उनको भनाइ छ।

पीडितहरूको अर्को माग विशेष वित्तीय ऐन खारेज गरी मुलुकी आचारसंहितामा आधारित आर्थिक तथा वित्तीय प्रणाली लागू गर्नु रहेको छ। साथै, वित्तीय संस्था तथा सहकारीबाट पीडित बनेकाहरूलाई ब्याजरहित ऋण उपलब्ध गराउन पनि उनीहरूले सरकारसँग माग गरेका छन्।

आन्दोलनरत पक्षले सरकारसँग भएका सहमति, अदालतको आदेश तथा आफ्ना मागहरू कार्यान्वयन नभएसम्म आन्दोलनका कार्यक्रम निरन्तर जारी रहने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया