NIMB Header 2
Prabhu Mahalaxmi

सिद्धार्थ बैंकको नाफा ३ अर्ब ३९ करोड नाघ्यो, बलियो पूँजी र तरलताले आगामी वर्ष आक्रामक कर्जा विस्तारको आधार

United Ajod
  • BFIS News
  • 2026 Aug 04 09:06
सिद्धार्थ बैंकको नाफा ३ अर्ब ३९ करोड नाघ्यो, बलियो पूँजी र तरलताले आगामी वर्ष आक्रामक कर्जा विस्तारको आधार
IME LIFE

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गर्दै सञ्चालन मुनाफा, खुद ब्याज आम्दानी, निक्षेप र कर्जा विस्तारमा उल्लेखनीय सुधार गरेको छ। निजी क्षेत्रमा कर्जा माग अपेक्षाकृत कमजोर रहेका बेला पनि बैंकले सन्तुलित व्यावसायिक विस्तार कायम राख्दै आगामी वर्ष थप आक्रामक कर्जा प्रवाहका लागि आवश्यक पूँजी, तरलता र वित्तीय आधार तयार गरेको छ।

Nepal Life
NIMB

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको खुद नाफा (३ अर्ब ३६ करोड ६५ लाख रुपैयाँ) को तुलनामा ४.५४ प्रतिशतको वृद्धि हो।

खुद नाफाको वृद्धि कम रहे पनि सञ्चालन मुनाफामा उल्लेखनीय सुधार देखिएको छ। बैंकको सञ्चालन मुनाफा ३.८२ प्रतिशतले बढेर ५ अर्ब १६ करोड रुपैयाँबाट ४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। यसले बैंकको मूल बैंकिङ कारोबारबाट आम्दानी गर्ने क्षमता बलियो बन्दै गएको देखिन्छ।

त्यस्तै, खुद ब्याज आम्दानी ५.९१ प्रतिशतले बढेर ८ अर्ब ५४ करोड ६३ लाख रुपैयाँबाट ९ अर्ब ५ करोड ११ लाख रुपैयाँ पुगेको छ। निक्षेप १६.७९ प्रतिशतले वृद्धि भई २ खर्ब ८० अर्ब ४ करोड रुपैयाँबाट ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी ९.०५ प्रतिशतले बढेर २ खर्ब १४ अर्ब ४७ करोड रुपैयाँबाट २ खर्ब ३३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ।

खर्च व्यवस्थापनतर्फ बैंकले उल्लेखनीय सुधार गरेको देखिएको छ। कर्मचारी खर्च २९.३८ प्रतिशतले घटेर ३ अर्ब ३० करोड ५६ लाख रुपैयाँबाट २ अर्ब ३३ करोड ४३ लाख रुपैयाँमा सीमित भएको छ। यद्यपि, सम्भावित जोखिम व्यवस्थापनका लागि कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) २८.४४ प्रतिशतले बढेर १ अर्ब ३७ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

बैंकको चुक्ता पूँजी २९.८४ प्रतिशतले बढेर १८ अर्ब २९ करोड ४७ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रिफरेन्स सेयर जारी गरेको थियो। साथै, करिब २ अर्ब ५० करोड रुपैयाँ बराबरको डिबेन्चर पनि जारी गरेपछि बैंकको पूँजी पर्याप्तता थप सुदृढ भएको जनाएको छ।

प्रति सेयर नेटवर्थ ५.२२ प्रतिशतले बढेर १८९.९४ रुपैयाँबाट १९९.८५ रुपैयाँ पुगेको छ। यद्यपि, एकल वित्तीय विवरणअनुसार प्रति सेयर आम्दानी (EPS) २४.३७ रुपैयाँबाट घटेर २३.७५ रुपैयाँमा आएको छ।

तर, लेखापछिको विनियोजन तथा नियामकीय समायोजनपछि वितरणयोग्य नाफामा भने उल्लेखनीय सुधार देखिएको छ। वितरणयोग्य नाफा १८.४८ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ३८ लाख रुपैयाँबाट २ अर्ब ७ करोड ८० लाख रुपैयाँ पुगेको छ। नियामकीय समायोजनपछिको प्रति सेयर आम्दानी पनि २२.७६ रुपैयाँबाट बढेर २३.०६ रुपैयाँ पुगेको छ, जसले बैंकको लाभांश वितरण क्षमता सुदृढ बन्दै गएको संकेत गर्छ।

यद्यपि, बैंकको निष्क्रिय कर्जा (NPL) २.६२ प्रतिशतबाट बढेर ३.५३ प्रतिशत पुगेको छ। ०.९१ प्रतिशत बिन्दुले बढेको एनपीएलले कर्जा पोर्टफोलियोको गुणस्तरमा केही दबाब देखाए पनि बैंकले पर्याप्त प्रोभिजनिङमार्फत सम्भावित जोखिम व्यवस्थापन गरेको जनाएको छ।

यसबीच बैंकले कोष लागत (Cost of Fund) उल्लेखनीय रूपमा घटाउन सफल भएको छ। कोष लागत ४.३९ प्रतिशतबाट घटेर ३.४२ प्रतिशतमा झरेको छ। सस्तो स्रोतबाट निक्षेप परिचालन गर्न सफल भएकाले खुद ब्याज आम्दानी वृद्धि गर्न यसले सकारात्मक योगदान पुर्‍याएको बैंकको विश्लेषण छ। साथै, नेपाल राष्ट्र बैंकले तोकेको ४ प्रतिशतको सीमाभित्र रहेर बैंकले ३.७ देखि ३.८ प्रतिशतसम्मको ब्याज अन्तर (स्प्रेड) कायम राखेको छ, जुन उद्योगको औसतभन्दा उच्च मानिन्छ।

आगामी वर्ष आक्रामक कर्जा विस्तारको आधार निर्माण

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा निजी क्षेत्रमा लगानी विस्तार सुस्त भए पनि बैंकले करिब २२.५ प्रतिशत कर्जा विस्तार गर्न सफल भएको छ। वर्षभर निक्षेप करिब ४० देखि ४५ अर्ब रुपैयाँले बढेको छ। कर्जा माग अपेक्षाकृत कम भएका कारण सिर्जना भएको अतिरिक्त तरलताको करिब २० अर्ब रुपैयाँ सरकारी ऋणपत्र, ट्रेजरी बिल तथा नेपाल राष्ट्र बैंकको स्थायी निक्षेप सुविधा (SDF) लगायत सुरक्षित उपकरणमा परिचालन गरिएको थियो।

बैंकले पर्याप्त निक्षेप, सुदृढ तरलता र बलियो पूँजी संरचनाका कारण चालु आर्थिक वर्षमा कर्जा विस्तारलाई थप तीव्र बनाउने रणनीति लिएको जनाएको छ। गत वर्ष मध्यम स्तरको कर्जा वृद्धि भएको भए पनि अब उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखेर आक्रामक रूपमा कर्जा प्रवाह गर्ने तयारी गरिएको बैंकको भनाइ छ।

बैंकको नाफा मुख्यतः मूल बैंकिङ कारोबारबाट आएको अर्गानिक वृद्धिमा आधारित रहेको जनाएको छ। अघिल्लो वर्षजस्तो सेयर बिक्रीबाट असाधारण आम्दानी नभए पनि पूँजी बजारबाट प्राप्त करिब ३८ करोड रुपैयाँ लाभांश आम्दानीले नाफालाई थप सहयोग पुर्‍याएको उल्लेख गरिएको छ।

डिबेन्चर परिपक्वताले आगामी वर्षहरूमा वितरणयोग्य नाफामा थप सकारात्मक प्रभाव पार्ने बैंकको अपेक्षा छ। गत आर्थिक वर्षमा परिपक्व भएका डिबेन्चरबाट करिब २ अर्ब १६ करोड रुपैयाँ बराबरको प्रभाव परिसकेको छ भने चालु आर्थिक वर्षमा करिब २ अर्ब ५० करोड रुपैयाँ र त्यसपछिको वर्ष करिब ३ अर्ब रुपैयाँ बराबरको थप सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ।

समग्रमा आर्थिक वर्ष २०८२/८३ सिद्धार्थ बैंकका लागि बलियो निक्षेप वृद्धि, पर्याप्त तरलता, सुदृढ पूँजी आधार, घट्दो कोष लागत, सन्तुलित ब्याज अन्तर तथा दिगो नाफा वृद्धिको आधार निर्माण भएको वर्षका रूपमा देखिएको छ। यद्यपि, बढ्दो निष्क्रिय कर्जा बैंकका लागि चुनौतीकै रूपमा रहेको छ। आगामी दिनमा कर्जा असुलीलाई प्रभावकारी बनाउँदै गुणस्तरीय कर्जा विस्तार गर्न सके बैंकले तयार पारेको बलियो वित्तीय आधारलाई उच्च व्यावसायिक वृद्धिमा रूपान्तरण गर्न सक्ने देखिन्छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया