एक दशकको यात्रामा लम्किदै आइएमई लाइफ, पुँजी विस्तारसँगै व्यवसायमा तीव्रता
- BFIS News
- 2026 Aug 17 10:44
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको नवौँ वर्ष पूरा गरी दशौँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीले ग्राहक, अभिकर्ता, नियमनकारी निकाय, शेयरधनी, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।ाम
स्थापनाको झण्डै एक दशक पार गर्ने तरखरमा रहेको आइएमई लाइफले आफुलाई वित्तीय रुपमा सबल बनाउनुका साथै हरेक सूचकमा आक्रामक सुधार गर्दै आइरहेको छ। आइएमई लाइफले पछिल्ला वर्षमा व्यवसायको आकार, पुँजी तथा बजार उपस्थितिमा उल्लेख्य विस्तार गरेको देखिन्छ।
आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ सम्मका लेखापरीक्षण भएका विवरणले कम्पनी सानो पुँजी आधारबाट ठूलो पुँजी संरचनातर्फ अघि बढेको, जीवन बीमा कोष विस्तार गरेको र बजार हिस्सामा निरन्तर सुधार गरेको देखाउँछन्। तर, पुँजी विस्तारको गतिसँगै प्रतिशेयर आम्दानी तथा इक्विटीमा प्रतिफलमा भने दबाब परेको देखिन्छ।
पाँच वर्षमा नेटवर्थ साढे तीन गुणाभन्दा बढी
कम्पनीको वित्तीय यात्रामा सबैभन्दा उल्लेख्य परिवर्तन पुँजी र नेटवर्थमा देखिन्छ। आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ८३ करोड ७६ लाख रुपैयाँ रहेको नेटवर्थ आर्थिक वर्ष २०८१/८२ मा बढेर ६ अर्ब ७३ करोड ८९ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा कम्पनीको नेटवर्थ करिब २६८ प्रतिशतले वृद्धि भएको देखिन्छ।
त्यस्तै, चुक्ता पुँजी पनि यस अवधिमा उल्लेख्य रूपमा बढेको छ। २०७६/७७ मा १ अर्ब ४० करोड रुपैयाँ रहेको चुक्ता पुँजी २०८१/८२ मा ५ अर्ब रुपैयाँ पुगेको छ। कम्पनीको शेयर संख्या पनि १ करोड ४० लाखबाट बढेर ५ करोड कित्ता पुगेको छ।
यसरी हेर्दा कम्पनीले व्यवसाय विस्तारका लागि आफ्नो पुँजी आधारलाई तीव्र गतिमा बलियो बनाएको देखिन्छ। पुँजी वृद्धि बीमा व्यवसायमा जोखिम वहन क्षमता बढाउने तथा दीर्घकालीन व्यवसाय विस्तारका लागि आधार तयार गर्ने महत्वपूर्ण पक्ष हो। यद्यपि नयाँ पुँजीबाट अपेक्षित प्रतिफल प्राप्त गर्न समय लाग्ने भएकाले पुँजी वृद्धिपछि प्रतिफलसम्बन्धी सूचकमा तत्काल दबाब आउन सक्छ।
नाफामा उतारचढाव, पछिल्लो वर्ष सामान्य सुधार
कम्पनीको खुद नाफामा भने एकरूपले वृद्धि देखिँदैन। आर्थिक वर्ष २०७६/७७ मा १९ करोड ८६ लाख रुपैयाँ रहेको खुद नाफा २०७७/७८ मा २९ करोड ६२ लाख र २०७८/७९ मा ३२ करोड ५७ लाख रुपैयाँ पुगेको थियो।
आर्थिक वर्ष २०७९/८० मा नाफा घटेर २० करोड ९९ लाख रुपैयाँमा सीमित भए पनि २०८०/८१ मा उल्लेख्य सुधार हुँदै ६१ करोड ७५ लाख रुपैयाँ पुगेको देखिन्छ। २०८१/८२ मा भने खुद नाफा ३९ करोड ३२ लाख रुपैयाँ कायम भएको छ।
नाफाको उतारचढावलाई पुँजी विस्तार, व्यवसायको आकार, बीमा दाबी, खर्च तथा लगानीबाट प्राप्त आम्दानीलगायतका पक्षसँग जोडेर हेर्नुपर्ने हुन्छ। त्यसैले कुनै एक वर्षको नाफालाई मात्र आधार बनाएर कम्पनीको समग्र वित्तीय अवस्था मूल्यांकन गर्नु भन्दा दीर्घकालीन प्रवृत्ति हेर्नु उपयुक्त हुन्छ।
पुँजी बढ्दा प्रतिशेयर आम्दानीमा दबाब
कम्पनीको चुक्ता पुँजी बढेसँगै प्रतिशेयर आम्दानीमा भने स्पष्ट दबाब देखिएको छ। आर्थिक वर्ष २०७८/७९ मा प्रतिशेयर आम्दानी २३ रुपैयाँ २४ पैसा पुगेकोमा २०७९/८० मा १० रुपैयाँ र २०८०/८१ मा १२ रुपैयाँ ३५ पैसा कायम भएको थियो। २०८१/८२ मा यो घटेर ७ रुपैयाँ ८६ पैसामा सीमित भएको छ।
यसको प्रमुख कारणमध्ये शेयरको संख्या बढ्नु पनि हो। नाफा बढे पनि नियामकीय पूँजी पुर्याउनु पर्ने बाध्यताले गर्दा प्रतिशेयर आम्दानीमा दवाव परेको हो। यही कारण इक्विटीमा प्रतिफल अर्थात् आरओई पनि पछिल्ला वर्षमा दबाबमा परेको छ। २०७६/७७ मा १०.८१ प्रतिशत रहेको आरओई २०७८/७९ मा १३.८७ प्रतिशतसम्म पुगे पनि २०८१/८२ मा ५.८४ प्रतिशतमा झरेको छ।
सोल्भेन्सीमा भने बलियो अवस्था
नाफा र प्रतिफलका सूचकमा उतारचढाव देखिए पनि कम्पनीको सोल्भेन्सी अवस्था तुलनात्मक रूपमा बलियो देखिन्छ। आर्थिक वर्ष २०७६/७७ मा १.५१ रहेको सोल्भेन्सी मार्जिन २०८१/८२ मा २.५९ पुगेको छ।
बीमा कम्पनीका लागि सोल्भेन्सी अनुपात जोखिम वहन क्षमता र वित्तीय स्थायित्वसँग प्रत्यक्ष सम्बन्धित सूचक हो। आइएमई लाइफको सोल्भेन्सीमा देखिएको सुधारले कम्पनीको पुँजी आधार र जोखिम वहन क्षमतामा भएको विस्तारलाई संकेत गर्छ।
तर, पुँजी बलियो हुनु मात्र पर्याप्त हुँदैन। त्यसलाई उच्च गुणस्तरको व्यवसाय, पर्याप्त बीमा शुल्क आर्जन र दिगो प्रतिफलमा रूपान्तरण गर्न सक्नु कम्पनीका लागि आगामी चरणको मुख्य चुनौती हुनेछ।
बजार हिस्सा निरन्तर बढ्दो
आइएमई लाइफको बजार उपस्थितिमा पनि क्रमिक सुधार देखिएको छ। आर्थिक वर्ष २०७६/७७ मा १.४२ प्रतिशत रहेको बजार हिस्सा २०७७/७८ मा २.२९ प्रतिशत, २०७८/७९ मा २.५८ प्रतिशत र २०७९/८० मा २.९३ प्रतिशत पुगेको थियो। २०८०/८१ मा ३.०३ प्रतिशत पुगेको बजार हिस्सा २०८१/८२ मा ३.१३ प्रतिशत कायम भएको छ। यसले कम्पनीले प्रतिस्पर्धात्मक जीवन बीमा बजारमा आफ्नो हिस्सा विस्तार गर्दै गएको देखाउँछ।
बीमा शुल्क आर्जनमा पुनः तीव्र गति
कम्पनीको व्यवसाय विस्तारलाई बीमा शुल्क आर्जनको वृद्धिदरले पनि समर्थन गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा कुल आर्जित बीमा शुल्कको वृद्धिदर १३.२४ प्रतिशतमा सीमित भएकोमा २०८१/८२ मा ३६.६७ प्रतिशत पुगेको छ।
पहिलो वर्षको बीमा शुल्क वृद्धिमा पनि उल्लेख्य सुधार भएको छ। २०८०/८१ मा पहिलो वर्षको बीमा शुल्क वृद्धिदर ऋणात्मक ५.९३ प्रतिशत रहेकोमा २०८१/८२ मा ४१.७७ प्रतिशतको वृद्धि भएको छ।
यसले पछिल्लो वर्ष नयाँ व्यवसाय संकलनमा कम्पनीले उल्लेख्य गति हासिल गरेको संकेत गर्छ। विशेषगरी जीवन बीमा कम्पनीका लागि पहिलो वर्षको बीमा शुल्क भविष्यको नवीकरणीय व्यवसाय र दीर्घकालीन बीमा शुल्क प्रवाहको आधार बन्ने भएकाले यो सुधारलाई सकारात्मक संकेतका रूपमा लिन सकिन्छ।
एन्डोमेन्ट र माइक्रो टर्ममा आक्रामक विस्तार
उत्पादनगत संरचनालाई हेर्दा कम्पनीले परम्परागत जीवन बीमा उत्पादनसँगै विशेष प्रकृतिका बीमा योजनामा पनि विस्तार गरेको देखिन्छ।
आर्थिक वर्ष २०८१/८२ मा एन्डोमेन्ट व्यवसायको वृद्धिदर १०२.७२ प्रतिशत पुगेको छ। यसले बचत तथा बीमा सुरक्षणलाई एकैसाथ समेट्ने उत्पादनप्रति ग्राहकको माग बढेको संकेत गर्छ।
त्यस्तै, माइक्रो टर्म व्यवसायमा अझ तीव्र वृद्धि देखिएको छ। कम्पनीको विवरणअनुसार २०८१/८२ मा माइक्रो टर्म व्यवसायको वृद्धिदर १९८.८७ प्रतिशत पुगेको छ। अघिल्ला वर्षमा पनि यस उत्पादनमा उच्च वृद्धिदर देखिएकाले कम्पनीले न्यून बीमांक तथा ठूलो ग्राहक आधार भएका बजारमा आफ्नो पहुँच विस्तार गर्ने रणनीति अघि बढाएको देखिन्छ।
जीवन बीमा कोषमा ठूलो छलाङ
आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको व्यवसाय विस्तारको अर्को महत्वपूर्ण पक्ष जीवन बीमा कोष बनेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तमा १३ अर्ब १० करोड ९० लाख रुपैयाँ रहेको जीवन बीमा कोष बढेर १८ अर्ब २७ करोड ४२ लाख रुपैयाँ पुगेको छ। यो ३९.४० प्रतिशतको वृद्धि हो।
जीवन बीमा कम्पनीको दीर्घकालीन वित्तीय क्षमताको मूल्यांकनमा बीमा कोष महत्वपूर्ण सूचक हो। बीमितको दायित्वसँग सम्बन्धित रकम ठूलो हुँदै जाने भएकाले यसको वृद्धि कम्पनीको व्यवसायको आकार विस्तारसँग पनि जोडिन्छ।
यससँगै खुद बीमा शुल्क आर्जनमा पनि उल्लेख्य वृद्धि भएको छ। अघिल्लो वर्ष ५ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ रहेको खुद बीमा शुल्क आर्जन २०८२/८३ को चौथो त्रैमाससम्म ७ अर्ब ४६ करोड ३० लाख रुपैयाँ पुगेको छ। वृद्धिदर ३५.८२ प्रतिशत रहेको छ।
यसरी जीवन बीमा कोष र खुद बीमा शुल्क दुवैमा दोहोरो अंकको वृद्धि देखिनुले कम्पनीको व्यवसाय विस्तारले निरन्तरता पाएको देखाउँछ।
नाफा स्थिर, तर खर्च र दाबी पनि बढ्दै
व्यवसाय विस्तार भए पनि नाफामा भने ठूलो उछाल देखिएको छैन। आर्थिक वर्ष २०८१/८२ मा ३९ करोड ३२ लाख रुपैयाँ रहेको खुद नाफा २०८२/८३ को चौथो त्रैमाससम्म ५८ करोड ४२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा ०.१६ प्रतिशतको सामान्य वृद्धि भएको कम्पनीको विवरणमा उल्लेख छ।
यस अवधिमा कुल खर्च २८.८८ प्रतिशतले बढेर ८ अर्ब ४६ करोड ३० लाख रुपैयाँ पुगेको छ। कुल दाबी भुक्तानी पनि १४.२० प्रतिशतले बढेर १ अर्ब ४६ करोड ५९ लाख रुपैयाँ पुगेको छ।
यसले व्यवसायको आकार बढेसँगै कम्पनीको खर्च र दायित्व पनि विस्तार भइरहेको देखाउँछ। त्यसैले आगामी वर्षमा बीमा शुल्कको वृद्धि र खर्चको वृद्धिबीचको अन्तर व्यवस्थापन गर्नु कम्पनीको नाफा सुधारका लागि निर्णायक हुनेछ।
प्रतिशेयर सूचकमा केही सुधारको संकेत
आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँमै कायम छ। प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६८ पैसा र प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ६६ पैसा रहेको छ।
२०८१/८२ मा ७ रुपैयाँ ८६ पैसा रहेको प्रतिशेयर आम्दानी पछिल्लो विवरणमा ११ रुपैयाँ ६८ पैसा पुग्नुले नाफा र पुँजी संरचनाको सम्बन्धमा केही सुधारको संकेत गर्छ। यसैगरी सोल्भेन्सी मार्जिन २.२२ बाट बढेर २.५९ कायम हुनु पनि वित्तीय क्षमताका दृष्टिले सकारात्मक पक्ष हो।
दशौँ वर्षमा प्रवेशसँगै मुख्य चुनौती ‘पुँजीको प्रतिफल’
आइएमई लाइफको विगत पाँच–छ वर्षको वित्तीय यात्राले कम्पनीले तीव्र विस्तारको चरण पार गरिरहेको देखाउँछ। पुँजी १ अर्ब ४० करोडबाट ५ अर्ब रुपैयाँ, नेटवर्थ करिब १ अर्ब ८४ करोडबाट ६ अर्ब ७४ करोड रुपैयाँ र बजार हिस्सा १.४२ प्रतिशतबाट ३.१३ प्रतिशतसम्म पुग्नु यसको विस्तारको स्पष्ट प्रमाण हो।
तर, अब कम्पनीका लागि केवल व्यवसायको आकार बढाउनु मात्र पर्याप्त हुने छैन। ठूलो पुँजीलाई उच्च गुणस्तरको बीमा व्यवसायमा परिचालन गर्ने, खर्च नियन्त्रण गर्ने, नवीकरणीय व्यवसाय बढाउने र अन्ततः शेयरधनीको प्रतिफल सुधार गर्ने चुनौती अगाडि छ।
विशेषगरी २०८१/८२ मा आरओई ५.८४ प्रतिशतमा झरेको र प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८६ पैसामा सीमित भएको पृष्ठभूमिमा नयाँ पुँजीको उत्पादकत्व महत्वपूर्ण हुनेछ। त्यसको विपरीत २०८२/८३ मा खुद बीमा शुल्क, जीवन बीमा कोष, प्रतिशेयर आम्दानी र सोल्भेन्सीमा देखिएको सुधारले विस्तारपछि कम्पनीले आफ्नो व्यवसायलाई क्रमशः प्रतिफलमा रूपान्तरण गर्न थालेको संकेत भने गरेको छ।
त्यसैले आइएमई लाइफको दशौँ वर्ष वार्षिकोत्सवको अर्को चरण मात्र नभइ पुँजी विस्तारबाट प्रतिफल विस्तारतर्फ संक्रमण गर्ने चरण पनि बन्ने देखिन्छ। आगामी वर्षमा बीमा शुल्क र जीवन बीमा कोषको वृद्धि कायम राख्दै आरओई, प्रतिशेयर आम्दानी तथा नाफाको गुणस्तर सुधार गर्न सके कम्पनीको पछिल्लो पुँजी विस्तारले अपेक्षित आर्थिक परिणाम दिन थालेको मान्न सकिनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)








.jpeg)





प्रतिक्रिया