सानिमा रिलायन्स लाइफको ‘क्लब अचिभर्स इभेन्ट २०८३’ भव्यताका साथ सम्पन्न
- BFIS News
- 2026 Aug 17 11:45
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने बीमा सल्लाहकारलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरेको ‘क्लब अचिभर्स इभेन्ट २०८३’ भव्यताका साथ सम्पन्न गरेको छ।
ललितपुरस्थित पाँचतारे होटल रोयल टुलिप काठमाडौंमा आयोजित कार्यक्रममा देशभरका शाखा तथा उपशाखामार्फत ‘क्लब योजना’मा सफलता हासिल गरेका बीमा सल्लाहकारलाई सम्मान गरिएको हो। कार्यक्रममा क्लब सदस्यता प्राप्त गर्न सफल सल्लाहकारका साथै वैयक्तिक कोड र टिम व्यवसायतर्फ उत्कृष्ट तीन स्थान हासिल गर्ने अभिकर्तालाई पनि सम्मान गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, सञ्चालकहरू भरत कुमार तोदी र केशवराज केसी तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेलगायत उच्च व्यवस्थापन तहका अधिकारीहरूको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केडियाले विभिन्न स्थानबाट सहभागी भएका क्लब सदस्य तथा बीमा सल्लाहकारलाई शुभकामना दिँदै कम्पनीप्रति देखाएको विश्वास र व्यवसाय विस्तारमा पुर्याएको योगदानप्रति आभार व्यक्त गरे। उनले कम्पनीको व्यावसायिक विकासमा बीमा सल्लाहकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बीमा सल्लाहकार कम्पनीको मेरुदण्डका रूपमा रहेको बताए। उनले अभिकर्ताको योगदानलाई थप प्रोत्साहित गर्ने कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने धारणा राखे।
कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले जीवन बीमा व्यवसायमा टिमवर्क र सहकार्यको महत्वबारे धारणा राखे। उनले टिममा रहेर समन्वय र सहकार्यका साथ काम गर्दा व्यावसायिक सफलता हासिल गर्न सहज हुने बताए।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत गोधूली क्लब, पृथ्वी क्लब, अग्नि क्लब, आकाश क्लब, ग्यालेक्सी क्लब र कसमस क्लबका योजना सञ्चालन गरेको थियो। क्लबमा सहभागी हुन वैयक्तिक कोड तथा टिम व्यवसायमार्फत संकलन गर्नुपर्ने न्यूनतम बीमाशुल्कको लक्ष्य निर्धारण गरिएको थियो। निर्धारित लक्ष्य पूरा गर्ने बीमा सल्लाहकार क्लब सदस्यका रूपमा छनोट भएका थिए।
कार्यक्रममा देशभरबाट क्लब योजनामा सहभागी भएका सल्लाहकार तथा वैयक्तिक कोड र टिम व्यवसायअन्तर्गत उत्कृष्ट तीनमा पर्न सफल अभिकर्तालाई सम्मान गरिएको थियो।
कार्यक्रममा सन् २०१० की मिस नेपाल सदिक्षा श्रेष्ठले सञ्चालनको जिम्मेवारी सम्हालेकी थिइन्। चर्चित गायक महेश काफ्ले, गायिका अस्मिता अधिकारी तथा हास्य कलाकार मिस पबी र सुन्दर खनालका प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो। कार्यक्रममा विभिन्न चरणमा नृत्य प्रस्तुति पनि समावेश गरिएको थियो।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहज बनाउने प्रयास, ग्राहक सम्पर्क प्रणालीको सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणलाई प्राथमिकता दिँदै आएको जनाएको छ। कम्पनीका अनुसार हाल देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान हुँदै आएको छ।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको तथा २७ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको कम्पनीले जनाएको छ। कम्पनीमा १७ हजारभन्दा बढी अभिकर्ता सक्रिय रहेको जनाइएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)













प्रतिक्रिया