२१ बुँदे सुधारपछि सेयर बजार स्वस्थ बाटोमा अघि बढेको अर्थमन्त्री वाग्लेको दाबी
- BFIS News
- 2026 Nov 17 14:37
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार सुधारका लागि सरकारले सार्वजनिक गरेको २१ बुँदे कार्यक्रमपछि बजार स्वस्थ बाटोमा अघि बढिरहेको बताएका छन्। विगतमा अव्यवस्थित र अनियमितताको क्षेत्र बनेको सेयर बजारलाई सफा गर्दै नियामकीय दायरामा ल्याएर दीर्घकालीन रूपमा व्यवस्थित बनाउने प्रयास भइरहेको उनले बताए।
राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सेयर बजारसहित समग्र अर्थतन्त्रमा नीतिगत तथा संरचनागत सुधारलाई सरकारले प्राथमिकता दिएको उल्लेख गरे। सुधारका कार्यक्रम एकपटक घोषणा गरेर रोकिने नभई निरन्तर अघि बढ्ने प्रक्रिया भएको उनको भनाइ थियो।
उनले सरकारले यस वर्ष करका दरमा पनि उल्लेख्य कटौती गरेको जानकारी दिए। आयकरको उच्चतम दर ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा झारिएको उल्लेख गर्दै उनले उच्चतम कर स्ल्याबमा एकैपटक १० प्रतिशत बिन्दुले कटौती गरिएको बताए।
करको दर घटाउँदा राजस्वमा ठूलो गिरावट आउने आशंका गरिए पनि कर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको उनले स्पष्ट पारे। उनका अनुसार कर्मचारीको पारिश्रमिक वृद्धि भए पनि करको भार कम हुने गरी व्यवस्था गरिएको छ। यसअघि पाँच लाख रुपैयाँ रहेको कर छुटको सीमालाई बढाएर १० लाख रुपैयाँसम्म पुर्याइएको उनले जानकारी दिए।
‘करका दर यसपटक कसैले कल्पना नै नगरेको ढङ्गले घटाएका छौँ। आयकरको उच्चतम दर ३९ प्रतिशतबाट २९ प्रतिशतमा झारिएको छ। पाँच लाख रुपैयाँको सीमालाई एकैपटक १० लाख रुपैयाँसम्म पुर्याएर त्यसभन्दा कम आय हुनेलाई कर तिर्नु नपर्ने व्यवस्था गरिएको छ,’ उनले भने।
अर्थमन्त्री वाग्लेले करको दायरा विस्तार गर्ने र करका दर घटाउने नीतिलाई सरकारले व्यवहारमा उतारेको दाबी गरे। भन्सार तथा अन्तःशुल्कलगायतका क्षेत्रमा पनि सुधार प्रक्रिया सुरु भइसकेको उनले बताए।
गत वर्ष बजेट तयारीका लागि चार हप्तामात्र समय उपलब्ध भएकाले पर्याप्त तयारी गर्न नसकिएको उल्लेख गर्दै उनले यसपटक पाँचदेखि छ महिनाअघिदेखि नै बजेट निर्माणको तयारी भइरहेको जानकारी दिए। आगामी जेठ १५ गते प्रस्तुत हुने बजेटमा सुधारका कार्यक्रमलाई अझ फराकिलो र गहिरो बनाउने सरकारको योजना रहेको उनले बताए।
यसैगरी, पूर्वाधार सम्मेलनलाई लक्षित गर्दै सरकारले समग्र कानुनी सुधारको कार्यक्रम अघि बढाउन लागेको उनले जानकारी दिए। यस क्रममा करिब ५० देखि ६० वटा ऐनका ५०० हाराहारी दफा संशोधन गर्ने तयारी भइरहेको उनको भनाइ छ।
सरकारले यसअघि भोटेकोसी प्याकेजको एक चरण कार्यान्वयनमा ल्याइसकेको र समग्र अर्थतन्त्रलाई लक्षित गरी अर्को आर्थिक प्याकेजमा काम गरिरहेको पनि उनले बताए। आगामी एकदेखि दुई हप्ताभित्र ३० देखि ३५ वटा नीतिगत तथा व्यावहारिक सुधारका कार्यक्रम सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारी दिए।
अर्थमन्त्री वाग्लेले सुधारका क्रममा कमजोरी हुन सक्ने स्वीकार गर्दै आवश्यकताअनुसार नीतिगत परिमार्जन गर्न सरकार तयार रहेको बताए। कहिलेकाहीँ आवश्यकताभन्दा बढी हस्तक्षेप हुन सक्ने वा अपेक्षित सुधार अपुग हुन सक्ने भन्दै त्यस्ता विषयलाई तथ्य र प्रमाणका आधारमा सच्याउँदै जानुपर्ने उनको भनाइ थियो।
‘सुधार भनेको एकपटक कार्यक्रम ल्याएर हात बाँधेर बस्ने विषय होइन। यो निरन्तरको प्रयास हो। कहिलेकाहीँ गल्ती हुन सक्छन्, आवश्यकताभन्दा बढी हस्तक्षेप हुन सक्छ वा सुधार अपर्याप्त हुन सक्छ। त्यस्ता अवस्थामा इमान्दारीपूर्वक आवश्यकताअनुसार नीतिगत सुधार र परिमार्जन गर्नुपर्छ। तथ्यले जहाँ पुर्याउँछ, त्यहीँ पुग्नुपर्छ। प्रमाणले जहाँ पुर्याउँछ, त्यहीँ पुग्नुपर्छ,’ उनले भने।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया