बैंकहरुको नाफा ३२% बढ्दा पनि मुख्य व्यवसाय सुस्त, प्रोभिजन घट्दा नाफामा उछाल
- BFIS News
- 2026 Aug 17 17:31
काठमाडौं भदौ १ गते । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको गत आर्थिक वर्ष २०८२।८३ को अपरिष्कृत वित्तीय विवरणले बैंकिङ क्षेत्रमा नाफा बढे पनि मुख्य व्यवसाय भने सुस्त रहेको देखाएको छ।
वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकको समग्र खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.३२ प्रतिशतले बढेर ६९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष बैंकहरुले ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए।
तर, बैंकहरुको आम्दानीको मुख्य स्रोत मानिने खुद ब्याज आम्दानीमा भने अपेक्षित वृद्धि देखिएको छैन। समग्र बैंकिङ क्षेत्रको खुद ब्याज आम्दानी १.२७ प्रतिशतले मात्रै बढेको छ। यसले कर्जाको माग सुस्त रहँदा नयाँ लगानीबाट बैंकहरुले पर्याप्त आम्दानी गर्न नसकेको संकेत गर्छ।
बैंकहरुको नाफा बढ्नुमा कर्जा नोक्सानी व्यवस्था (प्रोभिजनिङ) मा आएको कमी प्रमुख कारण देखिएको छ। गत आर्थिक वर्षमा बैंकहरुको समग्र प्रोभिजनिङ रकम २७.६५ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष खराब कर्जाका लागि ठूलो रकम प्रोभिजन गर्नुपरेकोमा गत वर्ष निष्क्रिय कर्जा असुली बढ्दा प्रोभिजनिङको दबाब घटेको हो।
कतिपय बैंकले अघिल्लो वर्ष खराब कर्जाका लागि छुट्याएको प्रोभिजन रकम राइट ब्याक गरी नाफामा गणना गरेका छन्। यसका कारण खुद ब्याज आम्दानी घटेका वा न्यून वृद्धि भएका बैंकको नाफासमेत उल्लेख्य बढेको देखिन्छ।
खराब कर्जाको चुनौती कायमै
बैंकहरुको समग्र नाफा बढे पनि सबै बैंकको अवस्था भने समान छैन। केही बैंकले अर्बौं रुपैयाँ नाफा आर्जन गर्दा केही बैंकको नाफामा भारी गिरावट आएको छ भने केही बैंक घाटामा समेत देखिएका छन्। खराब कर्जाका कारण प्रोभिजनिङको भार अझै केही बैंकमा उच्च रहेको छ।
केही ठूला बैंकले अझै ५ देखि ६ अर्ब रुपैयाँसम्म प्रोभिजनका लागि छुट्याउनुपर्ने अवस्थाले खराब कर्जाको समस्या पूर्ण रूपमा समाधान भइनसकेको देखाउँछ।
बैंकहरुले ब्याज आम्दानी सुस्त हुँदा सेवा शुल्क, कमिसन तथा डिजिटल बैंकिङ कारोबारबाट हुने गैरब्याज आम्दानी बढाउने र सञ्चालन खर्च नियन्त्रण गर्ने रणनीति अपनाएका छन्। यसले पनि बैंकहरुको नाफा कायम राख्न सहयोग गरेको देखिन्छ।
समग्रमा, गत आर्थिक वर्षको नाफा वृद्धि उत्साहजनक देखिए पनि यसको ठूलो हिस्सा नयाँ व्यवसाय विस्तारभन्दा प्रोभिजन घट्नु, कर्जा असुली र राइट ब्याकबाट आएको देखिन्छ। आगामी दिनमा कर्जाको माग बढाएर वास्तविक व्यवसायिक विस्तारबाट नाफा वृद्धि गर्नुपर्ने चुनौती बैंकहरूसामु रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया