NIMB Header 2
Nepal Life

चाडपर्वअघि भारतमा चिनी भण्डारणमा कडाइ, नेपालमा भने मूल्य बढ्दो

Sagarmatha Lumbini
  • आयुस बस्नेत
  • 2026 Aug 20 15:04
चाडपर्वअघि भारतमा चिनी भण्डारणमा कडाइ, नेपालमा भने मूल्य बढ्दो
United Ajod

काठमाडौं, भदौ ४ गते । चाडपर्वको मौसम सुरु हुनुअघि भारत सरकारले चिनीको भण्डारणमा कडाइ गरेको छ। केन्द्र सरकारले चिनीको भण्डारण सीमा घटाउँदै अब व्यापारी तथा डिलरले अधिकतम १५ दिनको मात्र स्टक राख्न पाउने व्यवस्था गरेको छ।

 

Nepal Life
NIMB

नयाँ व्यवस्था सेप्टेम्बर १ देखि लागू हुनेछ। प्रतिमहिना १० मेट्रिक टनभन्दा बढी चिनीको कारोबार गर्ने डिलर तथा व्यापारीले आफ्नो औसत मासिक खपतको १५ दिनभन्दा बढी चिनी भण्डारण गर्न पाउने छैनन्।

यसअघि अगस्ट १ मा भारत सरकारले चिनी डिलरका लागि ३० दिनको स्टक सीमा तोकेको थियो। चाडपर्वको मौसममा माग बढ्ने र चिनीको मूल्यसमेत निरन्तर उकालो लागेपछि सरकारले स्टक सीमा घटाएको हो।

नयाँ व्यवस्था नोभेम्बर ३० सम्म लागू हुनेछ। यसको दायरामा प्रतिमहिना १० मेट्रिक टनभन्दा बढी चिनी खपत गर्ने थोक व्यापारी तथा डिलरसँगै मिठाइ, सफ्ट ड्रिंक, खाद्य प्रशोधन उद्योग र मिठाइ बिक्रेतासमेत पर्नेछन्।

सरकारले चिनीको भण्डारण तथा कारोबारमा निगरानीसमेत कडा बनाउने भएको छ। व्यापारीको विगत एक वर्षको औसत मासिक खपतलगायतका आधारमा स्टक सीमा निर्धारण गरिनेछ। चिनी मिलबाट थोक उपभोक्तालाई प्रत्यक्ष वा डिलरमार्फत हुने बिक्रीसमेत अनुगमन गरिनेछ।

बिक्री तथा खपतको विवरण जीएसटी रिटर्न तथा चिनीको एचएसएन कोडका आधारमा समेत परीक्षण गरिने बताइएको छ। केन्द्र, राज्य सरकार तथा केन्द्र शासित प्रदेशका प्रशासनिक र स्थानीय निकाय भने यो व्यवस्थाबाट बाहिर रहनेछन्।

भारतमा चाडपर्वअघि चिनीको माग बढ्ने अनुमानसँगै मूल्यसमेत उच्च स्तरमा पुगेको छ। पछिल्लो एक महिनामा खुद्रा चिनीको मूल्य करिब १३ देखि १४ प्रतिशतसम्म बढेको बताइएको छ। सरकारले भण्डारण नियन्त्रण गरी बजारमा आपूर्ति बढाउने र मूल्य नियन्त्रण गर्ने उद्देश्य राखेको छ।

यता, नेपालमा पनि चिनीको खुद्रा मूल्य प्रतिकिलो १२० रुपैयाँसम्म पुगेको छ। चाडपर्व नजिकिँदै गर्दा चिनीको मूल्य बढेपछि उपभोक्ता मारमा परेका छन्। बजारमा चिनीको कालोबजारीसमेत सुरु भएको गुनासो आए पनि सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया