NIMB Header 2
Nepal Life

भीषण बाढीले रसुवाका १५ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट उत्पादन प्रभावित

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 26 12:40
भीषण बाढीले रसुवाका १५ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट उत्पादन प्रभावित
United Ajod

काठमाडौं, २०८३ भदौ १० गते । रसुवामा आएको भीषण बाढीले जिल्लाका जलविद्युत् आयोजना तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र ऊर्जा मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार बाढीबाट सञ्चालनमा रहेका १० र निर्माणाधीन पाँच गरी १५ जलविद्युत् आयोजना प्रत्यक्ष प्रभावित भएका छन्।

Nepal Life
NIMB

प्रारम्भिक विवरणअनुसार प्रभावित सञ्चालन आयोजनाको कुल क्षमता ३५९ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ३९४ मेगावाट रहेको छ। बाढीका कारण सञ्चालनमा रहेका आयोजनाको विद्युत् उत्पादन प्रभावित हुँदा तत्काल करिब ४३१.१ मेगावाट उत्पादन ठप्प भएको प्रारम्भिक आकलन गरिएको छ।

रसुवाको भोटेकोशी नदीमा आएको अचानक ठूलो बाढीले नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रका जलविद्युत् आयोजनामा क्षति पुर्याएको हो। बाढीको मुख्य प्रभाव तिमुरे, रसुवागढी र स्याफ्रुबेसी क्षेत्रमा परेको छ।

ठूला जलविद्युत् आयोजनामा क्षति

बाढीबाट नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीअन्तर्गतका रसुवागढी १११ मेगावाट, चिलिमे २२ मेगावाट, सान्जेन ७८ मेगावाट, अपर सान्जेन १४.८ मेगावाट र सान्जेन ४२.५ मेगावाटका आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण छ।

त्यस्तै, प्राधिकरणअन्तर्गतका त्रिशूली २४ मेगावाट, देवीघाट १४ मेगावाट, त्रिशूली–३ए ६० मेगावाट र एनईए सोलार २५ मेगावाटका आयोजना पनि प्रभावित भएका छन्। निजी क्षेत्रतर्फ लाङटाङ २० मेगावाटको आयोजनामा समेत बाढीले क्षति पुर्याएको छ।

बाढीले जलविद्युत् आयोजनाका संरचनामा मात्रै नभई विद्युत् प्रसारण पूर्वाधारमा समेत क्षति पुर्याएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार रसुवागढी, चिलिमे र त्रिशूली–३ए आयोजनासँगै त्रिशूली–३बी हबको २२० केभी सबस्टेसनमा समेत क्षति पुगेको छ। सबस्टेसनमा भएको क्षतिले रसुवा तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्तिमा समेत असर परेको छ।

बाढीको जोखिम अझै कायम रहेकाले त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

पुनः सञ्चालनमा चुनौती

बाढीबाट प्रभावित आयोजनामध्ये केही आयोजनाका संरचना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने केहीमा आंशिक क्षति पुगेको छ। क्षतिको विस्तृत मूल्याङ्कन तथा प्राविधिक परीक्षणपछि मात्र आयोजनालाई पुनः सञ्चालनमा ल्याउन लाग्ने समय र लागत यकिन हुने देखिन्छ।

रसुवागढी जलविद्युत् आयोजना यसअघि पनि बाढीबाट प्रभावित भएको थियो। पुनर्निर्माणपछि आंशिक रूपमा सञ्चालनमा आएको आयोजना पुनः बाढीको चपेटामा परेको हो। यसले आयोजना पुनर्निर्माण र सञ्चालनमा थप चुनौती सिर्जना गरेको छ।

राहत तथा पुनर्निर्माण प्याकेजको माग

इप्पानका अध्यक्ष गणेश कार्कीले बाढी प्रभावित जलविद्युत् आयोजनाका लागि सरकारले तत्काल विशेष राहत तथा पुनर्निर्माण प्याकेज ल्याउनुपर्ने माग गरेका छन्। प्रभावित आयोजनाको व्यावसायिक उत्पादन मिति (आरसीओडी) र विद्युत् उत्पादन अनुमतिपत्रको अवधि थप, ऋण पुनर्तालिकीकरण तथा दीर्घकालीन वित्तीय व्यवस्थाका लागि सहजीकरण गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै, क्षतिग्रस्त आयोजना पुनर्निर्माणका लागि आवश्यक उपकरण तथा सामग्री आयातमा भन्सार छुटलगायतका सुविधा उपलब्ध गराउनुपर्ने निजी ऊर्जा उत्पादकहरूको माग छ।

हिउँदमा विद्युत् आपूर्तिमा दबाब बढ्ने जोखिम

रसुवाका जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा भएको क्षतिले मुलुकको ऊर्जा प्रणालीमा समेत दीर्घकालीन असर पार्न सक्ने देखिएको छ। विशेषगरी हिउँदमा नदीमा पानीको बहाव घट्ने भएकाले अहिले प्रभावित भएका आयोजनाको पुनः सञ्चालनमा ढिलाइ भए विद्युत् आपूर्तिमा थप दबाब पर्न सक्ने जोखिम छ।

बाढीबाट भएको भौतिक क्षतिको पूर्ण विवरण संकलन, संरचनाको प्राविधिक परीक्षण र पुनर्निर्माणको लागत तथा समय निर्धारणपछि मात्र ऊर्जा क्षेत्रमा परेको समग्र प्रभावको यकिन हुने देखिन्छ। अहिले भने बाढीले जनजीवन, सडक, पुल तथा विद्युत् पूर्वाधारसँगै मुलुकको ऊर्जा उत्पादनमा समेत गम्भीर चुनौती थपेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया