NIMB Header 2
Nepal Life

बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सय सोलार पावर बैंक पठाउँदै

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 27 10:26
बाढी प्रभावित क्षेत्रमा बत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सय सोलार पावर बैंक पठाउँदै
United Ajod

काठमाडौँ । विद्युत् पूर्वाधारमा भएको क्षतिका कारण विद्युत् सेवा अवरुद्ध भएको रसुवालगायत बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक ऊर्जाको व्यवस्था गर्न थालेको छ। मन्त्रालयले प्रभावित क्षेत्रमा बत्ती बाल्न र मोबाइल चार्ज गर्न सकिने पाँच सयवटा सोलार पावर बैंक पठाउने तयारी गरेको छ।

Nepal Life
NIMB

बाढीका कारण १२ वटा जलविद्युत् आयोजनामा क्षति पुगेपछि ४३१.१ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। विद्युत् पूर्वाधारमा ठूलो क्षति भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालय मातहतका संयन्त्र परिचालन गरी रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक ऊर्जाको व्यवस्थापन अघि बढाएका छन्।

ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग सहकार्य गरी पाँच सय सोलार पावर बैंक प्रभावित क्षेत्रमा पठाउन लागेको हो। मन्त्रालयले ती सोलार पावर बैंक प्रधानमन्त्रीको नेतृत्वमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्लाई हस्तान्तरण गर्नेछ। परिषद्मार्फत ती सामग्री प्रभावित क्षेत्रमा पठाइने तयारी छ।

ऊर्जामन्त्रीका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले रसुवाको सबस्टेसनमा ठूलो क्षति भएकाले तत्काल विद्युत् सेवा सुचारु गर्न कठिन रहेको बताए। त्यसैले तत्कालका लागि बत्ती बाल्न र मोबाइल चार्ज गर्न मिल्ने सोलार पावर बैंक विपद् राष्ट्रिय परिषद्मार्फत प्रभावित क्षेत्रमा पठाउन लागिएको उनले भने।

मन्त्रालयका अनुसार त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यसैगरी, छवटा प्रसारण लाइनसमेत अवरुद्ध भएका छन्।

जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत बराबरको ४३१.१ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ। यसले विद्युत् आपूर्ति प्रणालीमा समेत दबाब सिर्जना गरेको छ।

यसैबीच, ऊर्जामन्त्री श्रेष्ठले बाढीपछि देशभरको विद्युत् आपूर्ति अवस्थाबारे जानकारी लिन आज स्युचाटारस्थित प्रेषण केन्द्र (लोड डिस्प्याच सेन्टर–एलडीसी) को निरीक्षण गर्ने भएका छन्।

महर्जनका अनुसार बाढीपछि विद्युत् आपूर्तिको अवस्था, बाढीका कारण समग्र विद्युत् प्रणालीमा परेको प्रभाव तथा विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको अवस्थाबारे जानकारी लिन मन्त्री श्रेष्ठ एलडीसीको निरीक्षणमा जान लागेका हुन्।

यता, ऊर्जा मन्त्रालयले सिन्धुपाल्चोकको समुद्रटारस्थित चौघोडा सबस्टेसन सञ्चालनमा ल्याउने प्रयाससमेत गरिरहेको छ। गुजुरीदेखि गल्छीसम्मका क्षेत्रमा धादिङबेँसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।

अवरुद्ध भएका अन्य क्षेत्रमा समेत पेट्रोलिङ गरी क्षतिग्रस्त संरचनाको मर्मत तथा सम्भव भएका स्थानमा विद्युत् लाइन सुचारु गर्ने काम भइरहेको छ। विद्युत् अवरुद्ध भएका कारण प्रणाली सञ्चालनमा समस्या नआओस् भनेर विद्युत् प्रणाली सञ्चालन विभागलाई आवश्यक निर्देशन दिइएको छ।

आवश्यक परे भिमफेदीमा रहेको जेनेरेटर प्रभावित क्षेत्रमा पठाउनसमेत तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया