भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनामा ठूलो क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह
- BFIS News
- 2026 Aug 27 10:48
काठमाडौं । भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले दुःख व्यक्त गरेको छ। बाढीबाट मानव बस्ती, जलविद्युत् आयोजना, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेको भन्दै इप्पानले प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्निर्माणलाई तीव्रता दिन आग्रह गरेको छ।
इप्पानका अनुसार बाढीबाट प्रभावित तथा बेपत्ता सर्वसाधारण, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र जलविद्युत् आयोजनामा कार्यरत कामदारहरूको उद्धार कार्य जारी छ। उद्धार तथा राहतमा खटिएका नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघसंस्था तथा सरोकारवालाप्रति इप्पानले धन्यवाद व्यक्त गरेको छ।
इप्पानले विपद्को यस घडीमा प्रभावित समुदाय तथा ऊर्जा क्षेत्रसँगै रहेको जनाउँदै आवश्यक सहयोगका लागि तयार रहेको जनाएको छ।
दर्जनौँ जलविद्युत् आयोजनामा क्षतिको प्रारम्भिक अनुमान
इप्पानले प्राप्त गरेको प्रारम्भिक विवरणअनुसार त्रिशूली तथा भोटेकोशी नदी बेसिनमा सञ्चालनमा रहेका तथा निर्माणाधीन दर्जनौँ जलविद्युत् आयोजनामा बाढीले ठूलो क्षति पुर्याएको छ। नदी किनार तथा बाढी प्रभावित क्षेत्रमा रहेका आयोजनाका बाँध, हेडवर्क्स, पावर हाउस, पहुँचमार्ग, प्रसारण संरचना, निर्माण सामग्रीलगायत भौतिक संरचनामा गम्भीर क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको इप्पानले जनाएको छ।
रसुवा जिल्लामा सञ्चालनमा रहेका करिब २३६ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना तथा निर्माणाधीन करिब ३४२.४२ मेगावाट क्षमताका तीन आयोजनामा क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
त्यसैगरी नुवाकोटमा सञ्चालनमा रहेका करिब १२३ मेगावाट क्षमताका चार आयोजना तथा निर्माणाधीन करिब ५२.६ मेगावाट क्षमताका दुई आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको इप्पानले जनाएको छ।
सबस्टेसनमा क्षतिका कारण अन्य आयोजना पनि प्रभावित
इप्पानका अनुसार माथिल्लो त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा पुगेको क्षतिका कारण भौतिक संरचनामा प्रत्यक्ष ठूलो क्षति नपुगेका कतिपय जलविद्युत् आयोजना समेत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएका छन्।
इप्पानले बाढी प्रभावित क्षेत्रमा फसेका जलविद्युत् आयोजनामा कार्यरत सम्पूर्ण कामदार, कर्मचारी तथा प्राविधिकको तत्काल खोजी, उद्धार र सुरक्षित स्थानमा स्थानान्तरणलाई पहिलो प्राथमिकता दिन सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन तथा सम्बन्धित सुरक्षा निकायसँग आग्रह गरेको छ।
त्यस्तै, प्रभावित आयोजनाका प्रवर्द्धक कम्पनी तथा निजी क्षेत्रका ऊर्जा उद्यमीलाई आफ्ना स्रोत, जनशक्ति, उपकरण तथा साधन परिचालन गरी उद्धार तथा राहत कार्यमा सक्रिय हुन इप्पानले अनुरोध गरेको छ।
निजी क्षेत्र र वित्तीय संस्थालाई सहयोगको आग्रह
इप्पानले निजी क्षेत्रका छाता संगठन, संघसंस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, निर्माण व्यवसायी, ऊर्जा क्षेत्रका कम्पनी तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई विपद्बाट प्रभावित नागरिक र जलविद्युत् आयोजनाको उद्धार तथा पुनर्स्थापनामा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ।
बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना तथा प्रसारण संरचनाको यथाशीघ्र क्षति मूल्यांकन, पुनर्निर्माण र विद्युत् प्रणालीमा पुनः जोड्ने कार्यलाई राष्ट्रिय प्राथमिकता दिन पनि इप्पानले सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभागलगायत सम्बन्धित निकायसँग आग्रह गरेको छ।
क्षतिग्रस्त आयोजनाको पुनर्निर्माणका लागि आवश्यक नीतिगत सहजीकरण, वित्तीय तथा प्राविधिक सहयोग, बीमा दाबी प्रक्रियामा सहजीकरण र प्रसारण पूर्वाधारको शीघ्र पुनर्निर्माणका लागि समेत इप्पानले अनुरोध गरेको छ।
क्षतिको विस्तृत विवरण संकलन गरिने
इप्पानले बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको क्षतिको विस्तृत विवरण संकलन तथा अभिलेखीकरण गर्ने कार्य अघि बढाउने जनाएको छ। तत्कालीन उद्धारदेखि दीर्घकालीन पुनर्निर्माणसम्म सरकार, सुरक्षा निकाय, निजी क्षेत्र, स्थानीय समुदाय तथा सबै सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको इप्पानको धारणा छ।
इप्पानले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै बेपत्ता नागरिक तथा कामदारको शीघ्र सकुशल उद्धार र घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया